काठमाडौं/ कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले नेपालभर लकडाउन गरेको छ । दुई हप्ता लामो लकडाउन पुनः वैशाख ३ गतेसम्म लकडाउन लम्बाइएको छ । लकडाउनका कारण आम नेपाली घरभित्र छन् । यतिबेला कुनै सिनेमा शूटिङ भइरहेका छैनन् भने हल पनि बन्द छन् । दर्शकले फिल्म हेर्न डिजिटल प्लेटफर्म प्रयोग गरिरहेका छन् । लकडाउनका बेला तपाईंसँग पनि फुर्सद हुनसक्छ । फुर्सदमा कुनै हास्य विधाका फिल्म हेरेर आफूलाई फ्रेस राख्न चाहनुभएको छ भने यी कमेडी सिनेमा तपाईंको रोजाइमा पर्न सक्छन्:

जात्रा
प्रदीप भट्टराईको निर्देशनमा तयार भएको सिनेमा ‘जात्रा’ वि.सं. २०७३ मा हलमा प्रदर्शन गरिएको थियो । यो सिनेमाले हलमा ५१ औं दिन मनाउन सफल भएको थियो । रिलिजअघि खासै चर्चामा नआएको सिनेमा दर्शकले रिलिजपछि रुचाएका थिए । हेर्नुस् पूरा फिल्म ।

सिनेमामा मध्यमवर्गीय परिवारका ३ युवाले पैसाको बोरा भेट्याएपछि आउने उतारचढाव देखाइएको छ । हास्य विधामा निर्माण भएको यो फिल्मका संवाद र यसको कथाले सिनेमालाई बलियो बनाएको छ । फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रेक्ष्या बज्राचार्य, प्रकाश घिमिरे, प्रवीण खतिवडा लगायतको अभिनय रहेको छ ।

कबड्डी
सन् २०१४ मा रिलिज भएको सिनेमाले कमेडी फिल्म मेकिङमा बाढी नै ल्याइदियो । डार्क कमेडी जानराको ‘कबड्डी’ मा मुस्ताङको नौरीकोट गाउँमा बस्ने काजीको एकोहोरो प्रेमकथालाई कमेडी ढंगले प्रस्तुत गरिएको छ । हेर्नुस् पूरा फिल्म ।

कमेडी सिनेमा मन पराउनेका लागि यो रोजाइको सिनेमा बन्न सक्छ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, निश्चल बस्नेत, राजन खतिवडा, बुद्धि तामाङ, विजय बराल, अरुणा कार्की लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको छ ।

छक्का पञ्जा
दीपकराज गिरीको समूहले निर्माण गरेको सिनेमा ‘छक्का पञ्जा’ फिल्म युट्युबमा उपलब्ध राम्रा कमेडी सिनेमामध्ये एक हो । सिनेमामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । यो सिनेमाले समीक्षकबाट मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा भने उत्साहजनक व्यापार गर्न सफल भएको थियो । हेर्नुस् फिल्म ।

महिला निर्देशक तथा हास्य अभिनेत्री दिपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, शिवहरि पौडेल लगायतको प्रमुख भुमिका रहेको छ ।

झोले
विदेश जान हिँडेको एक युवक (दयाहाङ राई) ले कागजपत्रसहितको झोला हराएपछि हुने घटनाक्रम समेटिएको फिल्म ‘झोले’ डार्क कमेडी सिनेमा हो । सिनेमामा सामान्य कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । हेर्नुस् पूरा फिल्म ।

वास्तविक कथामा आधारित भनिएको यो सिनेमाका धेरै दृश्य घरभित्र नै छायांकन गरिएको छ । अब्बल निर्देशकको दर्जा पाएका दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, शिशिर राना, ए गुरुङ लगायत कलाकारहरूको प्रमुख भुमिका रहेको छ ।

मिस्टर झोले
दयाहाङ राईको शीर्ष भूमिका रहेको सिनेमा ‘मिस्टर झोले’ मा एक गाउँको कथा समेटिएको छ । सिनेमाको नाम ‘झोले’ सँग मिल्दो देखिए पनि यो फिल्म ‘झोले’ को सिक्वेल भने होइन । सिनेमामा मिस्टर झोलेको प्रेमकथालाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ । हेर्नुस् पूरा फिल्म ।

निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, दिया पुन, वर्षा राउत, पुष्कर गुरुङ, प्रविण खतिवडा, विजय बराल, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, माओत्से गुरुङ लगायत कलाकारहरूको प्रमुख भुमिका रहेको छ ।

शत्रु गते
मह जोडी र दीपकराज गिरीको समूहको सिनेमा ‘शत्रु गते’ ले समीक्षकबाट मिश्रित प्रतिक्रिया पाए पनि सिनेमाले भने राम्रो व्यापार गर्न सफल भएको थियो । सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, पल शाह, आँचल शर्मा लगायतका कलाकारको शीर्ष भूमिका छ । हेर्नुस् पूरा फिल्म ।

पारिवारिक घोचपेचका कारण एक जोडीमा आएको समस्यालाई सिनेमामा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन भने मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, किरण केसी लगायत कलाकारहरूको प्रमुख भुमिका रहेको छ ।

कबड्डी कबड्डी
सिनेमा ‘कबड्डी कबड्डी’ सन् २०१४ को सिनेमा ‘कबड्डी’कै सिलसिला हो । सिनेमामा पुराना कलाकारका साथ सौगात मल्लको पनि अभिनय छ । सिनेमामा मैयाँ पट्याउन दुई काजीले गर्ने कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।
सिनेमाको तेस्रो सिक्वेल पनि हलमा प्रदर्शन भइसकेको छ । तर यो सिनेमा युटुयुबमा हाल उपलब्ध छैन । हेर्नुस् कबडी कबड्डी ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई सौगात मल्ल, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, उपेन्द्र सुब्बा, कविता आले, पुष्कर गुरुङ लगायत कलाकारहरूको प्रमुख भुमिका रहेको छ ।

छ एकान छ
लकडाउनको अल्छीपनालाई मेटाउने अर्को उपयुक्त फिल्म “छ एकान छ” पनि बन्न सक्छ । हुन त धेरैले यो फिल्मलाई हेरिसक्नु भएको हुन सक्छ । तर, यो बेला फेरि हेर्दा फ्रेश हुन सक्छ । २०१५ मा युट्युबमा सार्बजनिक यो फिल्मले हलमा खुबै तहल्का पिटेको थियो । हेर्नुस् पूरा फिल्म ।

दिनेश डिसिले निर्देशन गरेको फिल्ममा दिपकराज गिरि, निता ढुंगाना, जितु नेपाल, किरण केसि, केदार घिमिरे माग्ने बुढा, सन्दिप क्षेत्री, शिवहरी पौडेल लगायतको प्रमुख भुमिका रहेको छ । सो फिल्मलाई हलसम्म युट्युबमा ७७ लाख ६८ हजार भन्दा बढिपटक हेरिएको छ । यो बाहेक युट्युबमा उपलब्ध छक्का पञ्जा २, वडा नम्बर छ, फाटेको जुत्ता, मेरो पैसा खोइ, पोइ पर्‍यो काले लगायतका फिल्म पनि तपाईंलाई मन पर्ने सिनेमा हुन सक्छन् ।

तपाईको प्रतिक्रिया