ईटहरी/ कलाकार पूर्णविक्रम शाह (पल)ले नेपाली चलचित्र क्षेत्रका पर्दा पछाडिको हिरोहरुलाई सहयोग गरेका छन् । उनले लकडाउन प्रभावित विपन्न प्राविधिक, नृत्यकर्मी एवं द्वन्द्वको दृश्यमा देखिने सहायक कलाकारहरुलाई खाद्यान्न सहयोग गरेका हुन् । कोरोना भाइरस एवं लकडाउनका कारण चलचित्र क्षेत्र ठप्प छ । फिल्मको छायाँकनदेखि प्रदर्शनसम्मका सबै कार्य रोकिएका छन् । जसका कारण प्रत्यक्ष असर परेको छ फिल्मको पर्दामा नदेखिने ज्यालादारी मजदूर वर्गमा ।

निम्न आय भएका उनीहरुलाई बढ्‍दो संक्रमण र थपिँदो लकडाउनका कारण परेको समस्याहरु बारे खबर सार्वजनिक भएपछि पल शाहले सहयोग घोषणा गरेका थिए । आइतबार उनले भक्तपुरबाट, कोटेश्वर, सातदोबाटो, सितापाइला, नागपोखरी, सेतोपुल, पुरानो बानेश्वर लगायत ठाउँमा बस्ने प्राविधिक, नृत्यकर्मी एवं सहायक कलाकारहरुसम्म सहयोग गर्न पुगे । जहाँ उनले आफ्नै हातले खाद्यान्न सहयोग गरे । खाद्यान्न प्याकेजमा चामल, दाल, तेल, बिस्कुट, आँटा लगायत सामाग्री रहेको थियो ।

यसअघि वैशाख १ गते उनी स्वयं समस्यामा परेका प्राविधिकहरुलाई भेट्दै सहयोग हस्तान्तरण गरेका थिए । दुई चरणमा गरिएको राहत वितरण ५ लाख २ हजार बराबरको भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले पुष्टि गरे । भने,’उनको यस सेवा भावले २ सय ५० चलचित्र प्राविधिक, नृत्यकर्मी लगायत लाभान्वित भएको छ । उनी राम्रो कलाकार त हुन् नै साथै यस विपद्को घडीमा उहाँले एक असल मानिस हुनुको कर्म निभाएका छन् ।’ यस्तै उनले मंगलबार पनि आफ्नो सहयोगको कार्यलाई अघि बढाएका छन् । उनले भक्तपुरको पुरानोठिमी चोक, भक्तपुर क्यान्सर अस्पताल र सुर्यबिनायक चोकमा रहेकाहरुलाई खाद्यन्न बितरण गरेका हुन ।

आफुले खाना खुवाउन पाउँदा अति नै खुशी लागेको भन्दै मानव सेवा आश्रम भक्तपुरलाई धन्यवाद दिदै प्रस्तुत तस्वीरहरु आफ्नो अफिसियल फेसबुक पेजमा पोस्ट गरेका छन् । भिडियो सम्पादक, म्युजिक भिडियोको मोडल हुँदै अभिनेता बनेका हुन् पल शाह । आफूले प्राविधिक हुँदाको अप्ठ्याराहरु महसुस गरेकै कारण सहयोग पुर्‍याएको बताए । भने,’सीमित बजेटमा चल्नु पर्छ । खानको लागि पनि हिसाब गर्नु पर्छ । अहिले मेरो त्यो स्थिति छैन । त्यसैले जसलाई आवश्यक छ त्यो वर्गलाई सहयोग गरेको हुँ ।’ उनी अभिनित पछिल्लो फिल्म “म यस्तो गीत गाउछु २” लकडाउनका कारण प्रदर्शन मिति तय भएपनी अनिश्चितका लागि पछाडी धकेलिएको छ ।

तपाईको प्रतिक्रिया