ईटहरी/ निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराको टिकाटालो भएको छ । आइतबार राजधानीमा रहेको शंकर होटलमा दुबै परिवारको उपस्थितिमा दुईले औँठी साटेका हुन् । लामो प्रेम सम्बन्धलाई यही बैशाख २४ गते दाम्पत्यमा रुपान्तरण गर्दैछन् ।

दशकअघि चलचित्र ‘मेरो एउटा साथी छ’ को सेटबाट उनीहरु एकअर्काको प्रेममा रमाउन थालेका थिए । इन्गेजमेन्ट समारोहमा दुबै निकै खुसी देखिएका थिए । प्रज्जवल आइकोर फिल्मस्का मालिक प्रभु शम्सेर जबराका छोरा हुन् । अहिले यो कम्पनी प्रज्जवले चलाउँदै आएका छन् । यो कम्पनीबाट यस वर्ष दुई चलचित्र बन्दैछ ।

विवाहपछि पनि चलचित्र निर्देशन र कोरियोग्राफीलाई निरन्तरता दिने रेनशाले बताएकी छिन् । विवाह लगत्तै उनी चलचित्र ‘आई एम ट्वान्टिवान’ निर्देशन गर्दैछिन् । यसलाई प्रज्जवलले निर्माण गर्दैछन् । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट रेनशाले निर्देशनमा राम्रो सम्भावना देखाएकी थिइन् । यसमा पनि प्रज्जवलकै लगानी थियो ।

‘आई एम ट्वान्टिवान’ मा ‘इन्टु मिन्टु…’ बाट सानदार डेब्यू गरेका धिरज मगरको प्रमुख भूमिका रहनेछ । योसँगै प्रज्जवलले दशक अगाडिको सुपरहिट चलचित्र ‘मेरो एउटा साथी छ’ को दोस्रो पार्ट पनि निर्माण गर्दैछन् । यसलाई ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने तय भइसकेको छ । दशैंपछि यस चलचित्रको छायांकन सुरु गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया