काठमाडौँ/ क्यामेरा ‘अन’ भएको २९ दिनमा चलचित्र ‘रातो टिका निधारमा’ को छायांकन सकिएको छ । कलाकार र मौसमले राम्रो साथ दिएका कारण फिल्मको समयमै छायांकन सकिएको निर्देशक अशोक शर्माको भनाई छ । चलचित्रको झापा र काठमाडौंमा छायांकन गरिएको छ । शीर्ष गीत ‘रातो टिका निधारमा’ खिच्दै चलचित्रको छायांकन सुरु भएको थियो । रि-एरेञ्ज गरेर यो गीत चलचित्रमा राखिएको छ ।

उक्त गीत दशक अगाडि प्रदर्शनमा आएको चलचित्र ‘अल्लारे’ मा समावेश थियो । यसमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले नृत्य गरेका थिए । रिमेक भर्सनमा भने ‘रातो टिका निधारमा’ का दुई लिड कलाकार साम्राज्ञी आरएल शाह र अंकित शर्माले ठुम्का लगाएका छन् । झापामा भब्य सेट खडा गरेर खिचिएको गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

यो चलचित्रबाट निर्देशक शर्माका छोरा अंकितले डेब्यू गर्दैछन् । उनको अपोजिटमा अभिनेत्री साम्राज्ञी छिन् । नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया