ईटहरी/ निर्माता छविराज ओझाविरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले काठमाडौं प्रहरी परिसरमा ती दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई बुधबार दिउँसो परिसर बोलाइएको छ ।

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग करिब २०७३ सालको दसैंमा विवाह गरेका थिए । विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै गरेको भनेर सार्वजनिक गरेका थिएनन् । गत वर्षमात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए ।

उनीहरू निकट स्रोतका अनुसार विगत केही समययता दुवैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ । यस विषयमा बुझ्न खोज्दा दुबैको फोन उठेन । उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ ।

स्रोतका अनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन् । छविले शिल्पालाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए । त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम्’ तथा ‘हवल्दार सुन्तली’मा अभिनय गरेकी थिइन। सिनेमामा आउनु अघि शिल्पा म्यूजिक भिडियोमा चल्तीकी मोडल थिइन् । – सेतोपाटिबाट ।

तपाईको प्रतिक्रिया