ईटहरी/ फिल्म ‘फटाह फणिन्द्रे’ निर्माण हुने भएको छ । निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशन समेत उनी आफैले गर्दैछन् । ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म
निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्म निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्द्रे’मा खन्याउन लागेको खड्काले बताए ।

‘केही दिन अरुको फिल्म सुटिङ्ग हेरेर धेरै निर्देशक भएका छन्’ खड्काले भने ‘म त यो क्षेत्रमा एक दशकदेखि छु ।’ अहिले बनिरहेको भन्दा फरक र सबैले मन पराउने फिल्म आफुले बनाउने उनले खुलाए । हुन त केही पहिले घोषणा भएको यो फिल्मका लागि अहिले अभिनेत्री सुस्मा कार्की अभिनेत्रीको रुपमा छनौट भएकी छन् ।

१० लाख पारिश्रमिका सुष्मा फिल्मसँग जोडिएकी हुन् । चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने फिल्मको अन्य कलाकार छिट्टै टुंगो लाग्ने अरुणले जानकारी दिए । उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ । नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरामा निर्माण हुन लागेको हो । चलचित्रको छायाँकन आगामी कार्तिकबाट सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया