ईटहरी/ यस वर्ष प्रदर्शनमा आएको चलचित्र ‘दात भात तरकारी’ पछि अभिनेत्री आँचल शर्माले ‘दुई रुपैयाँ’ टिमको नयाँ चलचित्र ‘डामाडोल’ साइन गरेकी थिइन् । तर, अहिलेसम्म यो चलचित्रको छायांकन सुरु हुन सकेको छैन । सम्भवतः दशैंपछि फिल्म फ्लोरमा निस्कनेछ । यसबीच, उनले नयाँ चलचित्र साइन गरेकी छन् । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको चलचित्र ‘झिँगेदाउ’ मा उनको प्रवेश भएको हो ।

हिजो (बुधबार) उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । यसअघि उक्त चलचित्रमा अभिनेत्री केकी अधिकारी र चलचित्र ‘बुलबुल’ मा चोपेन्द्रको भूमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएका मुकुन भुषाल फाइनल भइसकेका छन् । चलचित्रमा केकी र आँचलको प्यारालल भूमिका रहेको निर्देशक देउजाले बताए । उनका अनुसार, चलचित्र महिला केन्द्रित छ ।

अभिनेत्री आँचलले चलचित्रमा आफ्नो भूमिका शक्तिशाली रहेको बताएकी छन् । उनी यस चलचित्रमा आफूले अभिनय देखाउन पाउनेमा विश्वस्त छिन् । उक्त चलचित्रमा केकी र मुकुनको जोडी बाँधिनेछ । भने, आँचलको खुलाइएको छैन । उनको जोडी चाँडै चलचित्रको औपचारिक निर्माण घोषणा कार्यक्रममा सार्वजनिक गरिने निर्देशक देउजाले बताए । चलचित्रमा अन्य २ कलाकार पनि मुख्य भूमिकामा फाइनल भइसकेका छन् ।

कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने चलचित्रलाई निर्देशक ज्ञानेन्द्र स्वयंले निर्माण गर्दैछन् । सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा छायांकन हुने चलचित्रलाई विष्णु कल्पितले खिच्नेछन् । भदौबाट छायांकन सुरु हुने चलचित्रका गीतमा संगीत भर्ने जिम्मेवारी अर्जुन पोखरेलको काँधमा छ । भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर बन्न लागेको चलचित्रको पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका छन् ।

तपाईको प्रतिक्रिया