ईटहरी/ ठूलो पानी नपर्दा छायांकनरत चलचित्र ‘आमा’ लाई कैयौ पटक समस्या परेको छ । जसले गर्दा, चलचित्रको बजेट निकै बढ्दै गएको छ । निर्देशक दिपेन्द्र के खनालले भने-‘पानी पर्छ भनेर हामी रातको २ बजेसम्म बसेका छौ । तर, पानी नपर्दा दृश्य खिच्न सकिएको छैन ।’

चलचित्रको ६५ प्रतिशत काम सकिएको छ । अब, ३५ प्रतिशत दृश्यमा पानी चाहिन्छ । निर्देशकले भने–‘हामीलाई सानो पानी परेर मात्र हुँदैन । ठूलै झरी नै पर्नुपर्छ । तर, यसपटक पानी नपर्दा गाह्रो भयो । पानी पर्छ भनेर साउनमै छायांकन राखेको, झन् पानी नै परिदिएन ।’

शर्मिला पाण्डेको लगानीमा बनेको यो चलचित्रको छायांकन असारको १६ गतेबाट सुरु भएको हो । तर, निर्देशकले सोचेअनुसार काम नहुँदा अप्ठ्यारो परिरहेको छ । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त आमा र छोरीको भूमिकामा छन् । चलचित्रको रिलिज मिति फागूण ९ गतेलाई तोकिएको छ ।

डीएस डिजिटलको ब्यानरमा यो चलचित्र बनिरहेको छ । अरु कुनै विकल्पमा पानी देखाएर चलचित्र खिच्न मिल्दैन र भन्ने प्रश्नमा दिपेन्द्र भन्छन्–‘क्लोज सर्टमा त संभव होला । तर, वाइड सर्टमा त पानी नै पर्नुपर्छ ।’ दिपेन्द्रले दैनिक २ लाख भन्दा बढी खर्च भएपनि काम हुन नसकेको बताए ।

तपाईको प्रतिक्रिया