काठमाडौं/ उच्च अदालत पाटनले निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश सदर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले अभिनेत्री पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उनीहरूलाई पक्राउ गर्न बाटो खोलिदिएको हो ।

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन गरेकी थिइन् । गत साउन ५ गते निर्माता छवि ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ओझाकी जेठी श्रीमती हेमा ओझाले उनलाई कानुनी कारबाही माग गर्दै जाहेरी दर्ता गराएकी थिइन् ।

छविकी जेठी पत्नी हेमा ओझाको तर्फबाट अधिवक्ताहरू स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए । शुक्रबार शिल्पाका तर्फबाट वरिष्ठ अधिवक्ता रमेशप्रसाद गुरागाईं र अधिवक्ता मनोज यादवले बहस गरेका थिए ।

छविका तर्फबाट भने कसैले पनि बहस गरेनन् । अदालतले पक्राउ पूर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पूर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुनविरुद्ध भएको प्रष्ट पार्दै शिल्पाको मागअनुसार निषेधाज्ञा जारी गर्न नमिल्ने हेमाका तर्फबाट बहस गरेका अधिवक्ताले गरेका थिए ।

तपाईको प्रतिक्रिया