ईटहरी/ ठूलो पर्व र लामो विदाका कारण दशैँलाई अवसर पारेर चलचित्र प्रदर्शनमा ल्याउँदा चलचित्र सफल हुन्छ भन्ने निर्माताको धारणा भएको पाइन्छ । अघिल्लो दशैँ र अहिले पनि दशैँमा चलचित्र प्रदर्शन गर्न दुई ठूला निर्माण टोलि जुधेका छन् । यस्तोमा अब अर्को सफल सिरिज ए मेरो हजुरको चौँथो चलचित्र अर्को दशैँमा प्रदर्शन हुने भएको छ । गत चैतमा प्रदर्शन भएर व्यापारि रुपमा सफल चलचित्र ‘ए मेरो हजुर ३’ पछि ‘ए मेरो हजुर ४’ अर्को वर्षको दशैँमा प्रदर्शनमा ल्याउने पक्का भएको चलचित्रका निर्माता सुनील कुमार थापाले एक सञ्चार माध्यमलाई बताएका हुन् ।

चलचित्र छायांकन भने यसै वर्षको मंसिरदेखि हुने बताइएको छ । चलचित्रमा सुहाना थापा यथावत रहनेछिन् भने अघिल्लो चलचित्रका अभिनेता अनमोल भने बाहिरिएका छन् । झरना थापाले नै निर्देशन गर्ने चलचित्रमा अभिनेता नयाँ राख्ने वा कुनै स्थापित कलाकारलाई नै लिने भन्नेबारे भने छलफर हुन बाँकी रहेको निर्माता थापाले जनाएका छन् । झरनाले यसअघि ‘ए मेरो हजुर ४’ भन्दा पहिले अनमोललाई नै लिएर ‘भागवत गीत’ बनाउने कुरा बाहिर अाएकाे थियाे ।

अनमोलले ‘एन्टि हिरो’ पहिले खेल्ने भएपछि ‘भागवत गीत’ पछि सरेको हो । शिव रेग्मीको लेखन तथा निर्देशनमा १७ वर्ष अघि बनेको चलचित्र ‘ए मेरो हजुर’मा झरना थापा श्रीकृष्ण श्रेष्ठ मुख्य भुमिकामा रहेका थिए । त्यसको १५ वर्षपछि झरनाले आफ्नै निर्देशनमा शलिनमान बनियाँ र साम्राज्ञी राज्य लक्ष्मी शाहलाई लिएर ‘ए मेरो हजुर २’ बनाएकी थिइन्,जुन सफल पनि भएको थियो ।

तपाईको प्रतिक्रिया