ईटहरी/ कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत चलचित्र मध्येको एक ‘पोइ पर्‍यो काले’ को शिर्ष गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा चलचित्रका प्रमुख कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश खड्का, सुरक्षा पन्त र सोहित मानन्धर फिचर्ड छन् । रामजी लामिछाने गीतका कोरियोग्राफर हुन् । हेर्नुस् भिडियो ।

गीतमा गायक रामचन्द्र काफ्ले र गायिका अञ्जु पन्तको संयूक्त गायन छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा नृपेश उप्रेतीको शब्द छ । गीतको भिडियोमा सौगात र पूजा जोडीको रुपमा प्रस्तुत छन् भने आकाशको जोडी श्रृष्टिसँग बाँधिएको छ । गीतको अडियो र भिडियो दुबै औसत छ । गीतलाई आकर्षक बनाउन तयार पारिएको सेटअप अनावश्यक रुपमा सजाइएको छ ।

कालो वर्ण भए पनि मन गोरो भएको एक पात्रको कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘पोइ पर्‍यो काले’ को मूलकथा अभिनेता सौगातको वरिपरि घुमेको छ । शिशिर राणा यस चलचित्रका लेखक तथा निर्देशक हुन् । यसअघि उनले चलचित्र ‘तिमीसँग’ को क्याप्टेनसिप सम्हालेका थिए । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ ।

अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता हुन् । चलचित्र हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिने अभिनेता सौगातको भनाई छ । नायिका श्रृष्टि चलचित्रमा पूजाको साथीको भूमिकामा छिन् । उनी चलचित्र अवधिभर आफू खासै नदेखिए पनि भूमिका भने महत्त्वपूर्ण रहेको बताउँछिन् । अभिनेता आकाश र अभिनेत्री पूजाले निकै मेहनतपूर्वक चलचित्र बनाएका कारण दर्शकलाई मन पर्नेमा विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया