ईटहरी/ भाद्र १३ गतेबाट देशव्यापी प्रदर्शनमा आएको अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्काको प्रमुख भूमिका रहेको चलचित्र ‘मारुनी’ ले विस्तारै व्यापार बढाउँदै लगेको छ । शुक्रबारबाट दोस्रो सातामा प्रदर्शनरत यो चलचित्रलाई सुरुवाती दिनमा बक्सअफिसमा टिक्न निकै सकस परेको थियो । साउथ सुपरस्टार प्रभास अभिनीत चलचित्र ‘साहो’ का कारण चलचित्रको इनिसियल व्यापारमा ठूलो धक्का पुग्यो ।

तर, ‘साहो’ को माउथ पब्लिसिटी कमजोर हुँदा त्यसको फाइदा ‘मारुनी’ ले उठाएको छ । यो चलचित्रको ‘वर्ड अफ माउथ’ बलियो छ । चलचित्र हेर्ने दर्शकले नाक खुम्च्याएका छैनन् । समीक्षकबाट पनि चलचित्रको तारिफ भइरहेको छ । चलचित्रको विकेन्ड कलेक्सनमा ‘साहो’ ले ठूलो असर गरेको भएता पनि अहिले ‘मारुनी’ ले हलमा दर्शक बढाउँदै लगेको छ । पहिलो हप्ताको सोमबारबाट चलचित्रको व्यापार बढेको वितरकले बताएका छन् ।

निर्मात्री पुनम गौतमका अनुसार, पहिलो हप्ताको सोमबारबाट चलचित्रको व्यापारिक रफ्तार एकै किसिमको छ । दर्शकको चाप बढ्न थालेपछि मल्टीप्लेक्सहरुले चलचित्रलाई सोज बढाएको उनी बताउँछन् । राजधानी र मोफसलको सिंगल थिएटरमा पनि चलचित्रको व्यापार राम्रो रहेको उनले बताइन् । निर्मात्री पुनमले १ करोड ५५ लाखमा चलचित्रको निर्माण पूरा भएको बताएकी छन् । यो लगानी उठाउन चलचित्रले साढे ३ करोडको व्यापार गर्नुपर्ने हुन्छ ।

नवल नेपाल निर्देशित ‘मारुनी’ हेर्ने दर्शकले कथावस्तु, क्लाइमेक्स, गीतसंगीत र कलाकारको अभिनय रुचाएका छन् । अघिल्ला चलचित्रमा अभिनयको प्रशंसा बटुल्न नसकेकी साम्राज्ञीले यो चलचित्रमा मनछुने अभिनय पस्किएकी छन् । चलचित्रमा उनको भूमिका निकै शक्तशाली छ । नव-अभिनेत्री रेबिका गुरुङले पनि आफ्नो अभिनय क्षमता देखाएकी छन् । अभिनेता पुष्पको अभिनयले भने निराश बनाएको छ । उनी चलचित्रमा खासै जम्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया