ईटहरी/ चकलेटी हिरोको रुपमा आफूलाई थापित गरेका अभिनेता प्रदीप खड्का पनि कमेडी भूमिकामा देखिने भएका छन् । अर्को वर्ष उनले चलचित्र ‘प्रेमगीत २’ का निर्देशक रामशरण पाठकको निर्देशनमा बन्न लागेको कमेडी चलचित्रमा काम गर्दैछन् । चलचित्रको नाम अहिलेसम्म तय नभए पनि निर्देशक पाठक लामो समयदेखि स्क्रिप्टमा काम गरिरहेका छन् । चलचित्र पूर्णतया कमेडी विषयवस्तुमा बन्ने जानकारी प्राप्त छ । हेर्नुस् यसै बिषयमा सन्तोष सेन संग गरिएको कुराकानी ।

प्राप्त जानकारी अनुसार, चलचित्रको निर्माण ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले गर्नेछन् । दशैंपछि छायांकन सुरु हुने चलचित्र ‘प्रेमगीत ३’ को तयारीमा व्यस्त रहेका कारण उनले नयाँ प्रोजेक्टको बारेमा बोल्न चाहेका छैनन् । यो चलचित्र प्रदर्शनमा आएपछि उनले कमेडी चलचित्रको निर्माण सुरु गर्ने बताइएको छ । निर्माता सेन र अभिनेता प्रदीपबीच कमेडी चलचित्रका लागि मौखिक सहमति भइसकेको छ ।

तर, प्रदीपले ‘प्रेमगीत ३’ पछि लभस्टोरी चलचित्र बनाउन सिपालु मानिने निर्देशक हेमराज विसीको चलचित्र गर्दैछन् । सम्भवतः माघ वा फागुनबाट चलचित्रको छायांकन सुरु हुनेछ । ‘शुभ विवाह’ वर्किङ टाइटल राखिएको चलचित्रमा प्रदीपको अपोजिटमा अभिनेत्री साम्राज्ञी आरएल राणा देखिँदैछन् । दुईलाई पहिलो पटक स्क्रिनमा हेर्न दर्शक निकै आतुर छन् । उनीहरु पनि यो चलचित्रलाई लिएर निकै उत्साहित छन् ।

चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’ का लागि अहिले प्रदीपले कडा मेहनत गरिरहेका छन् । लिखुरे हिरोको रुपमा चिनिएका उनले यो चलचित्रका लागि आकर्षक शरीर बनाएका छन् । भने, घोडा सवारी र एक्सनको पनि ट्रेनिङ लिएका छन् । एकैखाले भूमिकामा अल्झिएको आरोप खेपिरहेका उनी अब कमेडी चलचित्र गरेर आफूलाई भर्सटायल अभिनेता साबित गर्ने सोचमा देखिएका छन् ।

तपाईको प्रतिक्रिया