ईटहरी/ कोरोना भाइरसको महामारीबाट देशलाई जोगाउन सरकारले ‘लकडाउन’ गरेपछि अहिले इन्टरनेटको सुविधा हुनेका लागि युट्युब दिन काट्ने साथी बनेको छ । नेपाली चलचित्र भनेपछि सधैं नाक खुम्च्याउने दर्शकहरुले पनि अहिले युट्युबमा भेटिएका नयाँ तथा पुराना कुनै नेपाली चलचित्र हेर्न छाडेका छैनन् । प्रायः नेपालको युट्युब ट्रेन्डिङ साउथ चलचित्र वा भाइरल कन्टेन्टले कब्जा गर्ने गर्दथे ।

तर, यसपटक केही दिन ट्रेन्डिङको शिर्ष स्थानमा रहेको साउथ चलचित्र ‘दिलजला आशिकी’ लाई तेस्रो नम्बरमा झारेर पहिलो नम्बरमा नेपाली चलचित्र ‘पोइ पर्‍यो काले’ र दोस्रो नम्बरमा ‘पञ्चेबाजा’ उक्लिएका छन् । रोचक कुरा चाहिँ यी दुवै चलचित्रमा अभिनेता सौगात मल्लको प्रमुख भुमिकामा अभिनय छ । ‘पोइ पर्‍यो काले’ मा काले केटाको भूमिकामा रहेका उनी ‘पञ्चेबाजा’ मा रंगकर्मी बनेका छन् । हेर्नुस् पोइ पर्यो काले :

एकै दिन युट्युबमा रिलिज भएका सौगातका यी दुई चलचित्रमध्ये भ्यूजमा भने ‘पोइ पर्‍यो काले’ लाखौंले अगाडि छ । पोइ पर्यो कालेलाई यो समाचार तयार पार्दासम्म ४६ लाख बढिले हेरिसकेका छन् भने १ लाख बढी लाइक्स र ८ हजारभन्दा बढी कमेन्ट प्राप्त छन् । युट्युब नेपाल ट्रेन्डिङको पहिलो स्थानमा छ । त्यस्तै, युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा विराजमान ‘पञ्चेबाजा’ लाई यो समाचार तयार पार्दासम्म १९ लाख बढी भ्यूज मिलेको छ भने फिल्मलाई २७ हजार लाईक र १८०० बढी प्रतिक्रिया प्राप्त छ । हेर्नुस् पञ्चेबाजा :

सम्भवतः सौगात अभिनीत दुई चलचित्र एकसाथ ट्रेन्डिङमा उक्लिएको यो पहिलो पटक हो । दुवै चलचित्रको कमेन्ट बक्समा उनको अभिनयको दर्शकले प्रशंसा गरेका छन् । शिशिर राणा निर्देशित चलचित्र ‘पोइ पर्‍यो काले’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठको पनि अभिनय छ भने धनश्याम लामिछाने निर्देशित ‘पञ्चेबाजा’ मा कर्मा, जश्मिन श्रेष्ठ, बुद्धि तामाङलगायतको अभिनय छ ।

कोरोनाबारे ज्योतिष हरिहरको ज्योतिषिय विधि :

तपाईको प्रतिक्रिया