- सुवास संकल्प

ईटहरी/ अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो नेपाल आईडलको पहिलो सिजनमा फस्ट रनरअप भएका निशान भट्टराईको चर्चा र ब्यस्तता त्यो बेला देखि नै थियो, जुनबेला उनी नेपाल आईडलमा अन्य प्रतिष्पर्धी संग मंचमा उत्रिरहेका थिए । उनको लोकप्रियता अहिले सम्म पनि उत्तिकै छ । पछिल्लो समय प्रतिक्षित २ फिल्मको गीतमा उनले गीत गाएका छन् ।

फिल्म ‘सत्रु गते’को सफलता पछि मह संचारको ब्यानरमा किरण केसीले बनाउने फिल्म ‘दाल भात तरकारी’ र अर्को हिट फिल्म ‘जात्रा’ टीमले बनाउने ‘जात्रै जात्रा’को लागि निशानले गीत गाएका हुन् । निशानले आफ्नो पहिलो गीत भुन्टी सार्बजनिक गरेपछि उनको ब्यस्तता निकै बढेको छ । हालै सार्बजनिक ‘मङ्सिर महिनामा’ले पनि उनको स्थानलाई झनै बलियो बनाएको छ ।

भर्खरै रेकर्ड सम्पन्न भएको यी २ फिल्ममा आफुले रमाईलो अर्थात डान्सिङ बिटको गीतहरु गाएको कुरा निशानले हामिलाई बताएका छन् । फिल्म दाल भात तरकारीमा उनले गायिका अन्जु पन्त संग युगल गीत गाएका छन् । त्यस्तै ‘जात्रै जात्रा’मा ‘माया पिरिम’ बोलको गीतमा गायिका मनिषा पोख्रेल संग गीत गाएका हुन् । यसअघि निशान ले गाएको छक्का पन्जा ३ ‘को उमेर ढल्किन्छ’ ले पनि निकै राम्रो सफलता हासिल गरेको छ ।

दाल भात तरकारीमा उनले गाएको गीतमा सम्भुजित बास्कोटाको संगीत समाबेश गरिएको छ भने गीतलाई हरिबंश आचार्यले लेखेका हुन् । एरेन्ज रिकेश गुरुङले गरेका छन् । त्यस्तै फिल्म जात्रै जात्राको ‘माया पिरिममा’ बोलको गीतमा लेखु सहयात्रीको शब्द समाबेश रहेको छ भने कृष्ण भारद्वजले संगीत भरेका छन् । निशानको यी गीतहरुले सार्बजनिक पश्चात् कत्तिको चर्चा पाउने हो भन्ने कुरा भने प्रतिक्षाको बिषय बनेको छ ।

तपाईको प्रतिक्रिया