ईटहरि/ कलाकारको प्रेम र ब्रेकअपको खबर दर्शकका लागि चासोको विषय बन्ने गरेको हुन्छ भने मिडियाका लागि ‘ब्रेकिङ न्यूज’ । हलिउड/बलिउडतिर कलाकारको प्रेम, ब्रेकअप र डिभोर्सलाई अति सामान्य रुपमा लिने गरिन्छ । नेपाली फिल्म क्षेत्रमा पनि अचेल कलाकारको प्रेम र ब्रेकअप नौलो विषय होइन । महिनैपिच्छे कुनै न कुनै कलाकारको प्रेम र ब्रेकअपको खबर मिडियाका लागि मसला बनिरहेका हुन्छन् ।

गएको महिना दुई अभिनेत्री वर्षा सिवाकोटी र साम्राज्ञी आरएल शाहको ब्रेकअपको खबर चर्चामा रह्यो । १७ महिनामा नै वर्षाको अमेरिकामा बस्दै आएका सविन जंग थापासँँग प्रेमको डोरी चुडियो । त्यस्तै, साम्राज्ञीको देवांश राणासँग २ वर्ष लामो प्रेम सम्बन्ध टुट्यो । देवांशभन्दा अगाडि साम्राज्ञी डेभाजु क्लबका सञ्चालक मयंक खड्काको प्रेममा थिइन् । अहिले उनै मंयकसँँग अभिनेत्री सारा सिरपालीको निकटता बढेको छ ।

फिल्म ‘सुश्री सम्पत्ति’ रिलिजताका उनी अभिनेता अनमोल केसीको प्रेममा रहेको चर्चा चलेको थियो । उनको जन्मदिन मनाउन अनमोल नगरकोट पुगेकोसम्म फिल्मवृतमा हल्ला थियो । तर, दुवैले प्रेम सम्बन्धको चर्चालाई अफवाह बताएका थिए । यसपछि उनीहरुको नाम जोडेर मिडियामा खासै गसिप बनेका छैनन् । बरु, अहिले सारा साम्राज्ञीका पूर्व प्रेमी मयंकको प्रेममा रहेको गाईंगुईं सुनिन थालेको छ ।

मंगलवार दिउँसो साराले आफ्नो इन्स्टाग्राम स्टोरीमा मयंकसँग राजधानीको एक होटलमा लञ्च गरेको तस्विर राखेकी छन् । यसले उनी मयंकको प्रेममा रहेको चर्चालाई केही हदसम्म बल मिलेको छ । यसअघि उनले सामाजिक सञ्जालमा आफू कसैको प्रेममा रहेको भन्ने आशयका स्टाटसहरु पोस्ट गरिरहेकी हुन्थिन् । अब मयंकसँगको तस्विर नै सार्वजनिक गरेपछि गसिप बजार एकपटक फेरि तात्ने देखिएको छ ।

निखिल उप्रेती स्टारर फिल्म ‘रुद्र’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साराको सुन्दरता र अभिनयको निकै चर्चा हुने गरेको छ । तर, उनको फिल्मी करिअर भने सुखद बन्न सकेको छैन । उनको डेब्यू फिल्म नै डिजास्टर सावित भएको थियो । यसपछि उनले अभिनय गरेका ‘पिंजडा ब्याक अगेन र सुश्री सम्पत्ति’ पनि चलेनन् । फिल्म नचले पनि सारालाई प्रेम सम्बन्धको चर्चाले गुमनाम हुन भने दिएको छैन ।

तपाईको प्रतिक्रिया