ईटहरी/ अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनीत फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यही फागुन २७ गतेबाट बाँकी छायांकन सुरु गर्न लागेको निर्माण टिमले सोमवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । महिलाहरुको महान पर्व हरितालिका तीजको छेकोमा फिल्म प्रदर्शनमा आउन लागेको हो ।

प्रदर्शन मितिसहित सार्वजनिक गरिएको पोस्टरमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् । पोस्टरमा अनमोलले चुम्बन गर्न खोज्दा सुहाना लजाएको देखिन्छ । कोरोना महामारी नभएको हुन्थ्यो भने यो फिल्म यसपालीको दशैंमा प्रदर्शनमा आइसकेको हुने थियो । तर, कोरोनाका कारण छायांकन समेत पूरा नभएपछि फिल्मको प्रदर्शन अनिश्चिलकालका लागि रोकिएको थियो ।

कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेपछि फिल्मको छायांकन पूरा हुन पाएको थिएन । यसपालीको दशैंबाट निर्माण टिमले बाँकी छायांकन सुरु गरेको थियो । तर, भीडभाडको सिन र गम्भीर विरामी भएको देखिन अनमोलले १० केजी तौल घटाउनु पर्ने भएपछि निर्माण पक्षले २ महिनाका लागि फिल्मको छायांकन रोक्यो । अब यही बिहीवारबाट बाँकी छायांकन सुरु हुँदैछ ।

अभिनेत्री झरना थापा निर्देशित फिल्मका निर्माता सुनिल कुमार थापा हुन् । फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका छ । लकडाउनको समयमा निर्माण टिमले गायक दुर्गेश थापालाई विशेष भूमिकामा अनुबन्ध गरेको थियो । फिल्ममा उनको केही सिन र एक गीत रहने बताइएको छ । सञ्जय लामा छायाँकार रहेको फिल्मको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया