ईटहरी/ अभिनयमा पारंगत मानिने अभिनेता नाजिर हुसेन नयाँ फिल्ममा आबद्ध भएका छन् । ‘क्याप्टेन’ फेम्ड निर्देशक दिवाकर भट्टराईको निर्माण र निर्देशनमा बन्न लागेको लभस्टोरी फिल्म ‘तिमीसँगै हुने मन छ’ मा उनी अनुबन्ध भएका हुन् । केही दिनअघि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । फिल्ममा नाजिरको भूमिका सशक्त रहेको निर्देशक भट्टराईले जानकारी दिए ।

रंगमञ्चबाट फिल्ममा उदाएका नाजिर अचेल म्यूजिक भिडियोमा अत्याधिक व्यस्त छन् । तर, उनको फिल्म करिअर सुखद बन्न सकेको छैन । डेब्यू फिल्म ‘होस्टेल रिर्टन्स’ बाहेक उनलाई अरु फिल्मले सफलताको सुख दिन सकेनन् । यद्यपि, हरेक फिल्ममा उनको अभिनयको भने निकै प्रशंसा हुने गरेको छ । लकडाउनमा उनले दुई फिल्म ‘हुतुतु र चिलगाडी’ पनि साइन गरेका थिए ।

चैत दोस्रो साताबाट छायांकन सुरु हुने ‘तिमीसँगै हुने मन छ’ मा नाजिरसँँगै मुम्बईका रोहित सुचान्ती र नायिका दीपिका प्रसाईंको पनि मुख्य भूमिका रहनेछ । रोहितले ‘तुने प्यार क्या किया, रिश्ता लिखंगे हम नयाँ’ लगायतका टेलिसिरियलमा अभिनयसँगै रियालिटी शो ‘बिग बोस १२’ मा समेत भाग लिएका थिए । उनी फिल्मको छायांकनका लागि केही दिनमा नेपाल ओर्लिदैछन् ।

२१ वर्षिय रोहितसँग सम्झौता गर्न निर्देशक भट्टराई दुई महिना अगाडि मुम्बई पुगेका थिए । फिल्ममा नायकसँगै प्राविधिक टिम पनि भारतकै हुनेछन् । नेपाली फिल्मलाई ग्रेडको हिसाबले माथि लैजान आफूले भारतको टिमसँग काम गर्न लागेको दिवाकरले बताएका छन् । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई भारतमा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया