इटहरी /छायांकनको तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’ मा अभिनेत्री हेरफेरको शिलशिला रोकिएको छैन । पहिला चलचित्रमा अभिनेत्री एलिजा गौतम भित्रिएकी थिइन् । मुहूर्तको एक हप्ता अगाडि उनले चलचित्र छाड्ने निर्णय गरिन् । यसपछि चलचित्रमा अभिनेत्री लक्ष्मी बर्देवाको प्रवेश भयो । तर, छायांकनमा ढिलाई भएको भन्दै उनले पनि चलचित्रबाट हात झिकेकी छन् ।

उनी बाहिरिए लगत्तै ‘घिन्ताङ’ मा अभिनेत्री केकी अधिकारीको प्रवेश भएको छ । केकीले स्क्रिप्ट र आफ्नो भूमिका मन परेपछि चलचित्र साइन गरेको बताएकी छन् । आफ्नो लगानीमा बनेको चलचित्र ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेकी उनले ‘घिन्ताङ’ मा नक्कली कपाल लगाउने बुझिएको छ । चलचित्रमा उनको जोडीको रुपमा गौरव पहारी देखिनेछन् ।

साहित्यकार मन्दिरा ‘मधुश्री’ लेखेको ‘मासुको मुल्य’ कथामा निर्माण हुन लागेको चलचित्रको बैशाख ६ गतेबाट छायांकन सुरु हुनेछ । एकल महिला र पुरुषबीचको अन्तरजातीय प्रेम सम्बन्धको कथा पेश गर्ने चलचित्रमा नीर शाह र मदनकृष्ण श्रेष्ठको पनि विशेष भूमिका रहनेछ । ‘घिन्ताङ’ लाई दीपक श्रेष्ठले निर्देशन गर्दैछन् । उनले सात वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया