ईटहरी/ बलिउड अभिनेत्री यामी गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले निर्देशक आदित्य धरसँग विवाह गरेकी हुन् । यामीले इन्स्टाग्राममा विवाहको फोटो राख्दै छरितो समारोहमा आफूले आदित्यसँग विवाह गरेको जानकारी गराएकी छिन् । कोरोना महामारीका कारण उनीहरुको विवाह समारोह निकै छोटो राखिएको थियो भने दुई परिवारका सीमित व्यक्तिको मात्र उपस्थिति रहेको थियो ।

आदित्य र यामीको अफेयरको खबर चलचित्र ‘उरी’ को सुटिङको समयदेखि नै चलेको थियो । तर, प्रेम सम्बन्धको चर्चाको बारेमा उनीहरुले मुख खोलेका थिएनन् । आदित्यले निर्देशन गरेको ‘उरी’ मा यामीको पनि अभिनय थियो । यो चलचित्रबाट आदित्यले उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारेका छन् । भारतीय सेनाले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइकमा चलचित्र आधारित थियो ।

हिमाचल प्रदेशको बिलासपुरमा २८ नोभेम्बर १९९८ मा जन्मिएकी यामी गौतमले मोडलको रुपमा करिअरको सुरुवात गरेकी थिइन् । ‘विक्की डोनर’ बाट बलिउड इन्डस्ट्रीमा डेब्यू गरेकी उनले ‘सनम रे’ ‘काबिल’ ‘एक्सन ज्याक्सन’ ‘बाला’ जस्ता चलचित्रमा काम गरिसकेकी छन् । ‘सनम रे’ मा काम गर्दा भने उनको नाम सोही चलचित्रका नायक पुलकित सम्राटसँग जोडिएको थियो ।


तपाईको प्रतिक्रिया