ईटहरी/ युट्युब प्रयोगकर्ताहरु यतिबेला नेपालमा बढिरहेका छन् । कुनै समय युट्युबका विभिन्न च्यानलमा अन्तरबार्ता दिन हौसिने कलाकारहरू आजकाल आफै युट्युबर भएको यथार्थ छ । कोरोनाले सिने क्षेत्र ठप्प भएपछि आम्दानि र फुर्सदको सदुपयोग पनि हुने संगै आफ्ना फ्यानहरुसंग जोडिईरहनको लागि एउटा गतिलो बहाना समेत बनेको छ । यता सिने र संगीत उधोगको लागि युट्युब एउटा ठूलो प्लेटफर्म भएको छ आफ्नो प्रतिभा तथा उत्पादित भिडियो दर्शकमाझ सिधा पुर्याउनको लागि ।

ट्रेन्डिङ, भ्युज संगै रेकर्ड ब्रेकको होडबाजी त हेर्न लायक नै हुन्छ । यस्तैमा एकसुरमा भ्युजको रेकर्ड ब्रेक गर्दै गइरहेको ‘कुटुमा कुटु’गीतको भिडियोले फेरि पनि रेकर्ड ब्रेक केही दिन अघि गरेको छ । १५ करोड भ्युज पुगेपछि युट्युब नेपालमा सर्वाधिक हेरिएको गीतको भिडियो बनेको छ । रेकर्ड पछि स्वस्तिमा खड्का दङ्ग नहुने त कुरै भएन । यहि गीतमा ठुम्का हानेपछी उनको करियरमा लक लागेको हो भन्दा फरक पर्दैन । गीतको यो रेकर्ड पछि उनको हातमा १५ करोडको केक देखिएको छ ।

ईन्स्टाग्राममा २ तस्विर सार्बजनिक गर्दै उनले खुसी साटेकी छन् । यो समाचार तयार गर्दैगर्दा सम्म कुटुमा कुटुको भिडियोलाई १५ करोड ४७ लाख ७२ हजार १ सय ८५ पटक हेरिएको छ । दिनप्रतिदिन यो गीतको भिडियो भ्युज अहिलेको अवस्थामा पनि बढिरहेको छ । चलचित्र ‘दुई रुपैयाँ’ मा समावेश यो गीतलाई युट्युबमा आएको भ्युज नेपालको जनसंख्या भन्दा कयौ गुणा बढी हो । यो गीतको भिडियोको सम्पुर्ण छायांकन प्रदेश १ को मोरङमा अवस्थित गोकुलम रिसोर्टमा गरिएको थियो ।

४ बर्षे युट्युब यात्रा गरिसकेको गीत राजनराज सिवाकोटीले तयार पारेका हुन् । आजसम्म कुनै नेपाली गीतलाई युट्युबमा १५ करोड पटक हेरिएको रेकर्ड छैन । गीतले झैँ चलचित्र ‘दुई रुपैयाँ’ ले बक्सअफिसमा रेकर्ड नबनाए पनि पैसा भने राम्रै छापेको थियो । यो गीतका कारण पनि चलचित्रको इनिसियल बक्सअफिस बलियो देखिएको थियो । ‘कुटुमा कुटु’ गीतमा राजनलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् । प्रायः राजनराजले तयार गरेका फिल्मका गीतले युट्युबमा करोड भ्यूज बटुलेका छन् ।

गीतमा अभिनेत्री स्वस्तिमासँगै अभिनेता द्वय निश्चिल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले ठुम्का लगाएका छन् । यस गीतका गीतकार राजनराज स्वयं हुन् । कुटुमा कुटुको यो रेकर्ड तोड्न अन्य नेपाली गीतलाई निकै समय लाग्ने देखिन्छ । तथापी केही गीतले भने पछ्याई रहेको छ । पछ्याउने पहिलो नम्बरमा पर्ने गीत हो ‘माया लुकि लुकि’ । यो गीतको भिडियोलाई पनि युट्युबमा १० करोड बढी पटक हेरिसकिएको छ । सार्बजनिकको ३ बर्ष पूरा गर्नै लाग्दा यो गीतको भिडियोले यति धेरै भ्युज बटुलेको हो ।

तपाईको प्रतिक्रिया