- सुवास संकल्प

ईटहरी/ नेपालमा यतिबेला कोरोना महामारीका कारण धेरै समस्यामा परेका छन् । यस्तैमा चलचित्र क्षेत्र पनि यसको चपेटामा परेको छ । विशेषगरी प्राविधिकहरु आर्थिक तथा खाद्यन्न अभावमा परेका छन् । काठमाडौमा मात्र हैन चलचित्र प्राविधिक तथा कलाकारको कथाब्यथा प्रदेश १ मा पनि उस्तै दयनीय बन्न थालेको छ । लामो समयको निषेधाज्ञा र सिनेमा क्षेत्र ठप्प हुदा मोफसलमा पनि सिनेकर्मीहरु समस्यामा पर्न थालेको हो । सोही कुरालाई मध्यनजर गर्दै प्रदेश १ मा सिनेकर्मिको हकहितमा खोलिएका संघ-संस्थाहरुले राहत वितरण सुरु गरेको छ ।

तर, केही तौर तरिका नपुर्याउदा राहत वितरणको अर्थ, अनर्थमा परिणत भएको छ भन्दा फरक नपर्ला । केही समयअघि नेपाल चलचित्रकर्मी संघ प्रदेश १ ले वितरण गरेको राहतमा राहत लिनेले नै असन्तुष्टि ब्यक्त गरेका छन् । प्रदेश १ मा लामो समयदेखि सिनेकर्मी भएर योगदान पुर्याएका निर्माता, निर्देशक तथा लेखक सन्तोष सरकारले असन्तुष्टि ब्यक्त गरेका हुन् । केही कलाकारले भने आफुले पोस्ट नगर्नुपर्ने उक्त स्ट्याटस र तस्वीर पोस्ट भएको स्वीकार गरेका छन् । कसैको अपमान गर्ने नियतले उक्त काम नगरिएको भन्दै पोस्ट फेसबुकबाट हटाएका हुन् ।

बिराटनगरमा उनलाई संघले राहत बितरण गर्यो । बितरण गरेसंगै राहत लिनेहरुलाई राहतसंगै लामबद्ध बनाई खिचिएको तस्विर सामाजिक संजालमा संघको फेसबुक पेज तथा संघमा आवद्ध केही कलाकारहरूले सो तस्विरहरुलाई सार्बजनिक गरे । सार्बजनिक तस्विरसंगै ‘अप्ठ्यारोमा परेका चलचित्रकर्मी’ भनेर लेखिएको कुरामाथी उनले आपत्ती जनाएका हुन् ।

उनले एक कलाकारले पोस्ट गरेको कमेन्ट बक्समा ‘अप्ठेरो मा शब्द चै उचित लागेन ।’ भनेर लेखेका छन् भने आफ्नो फेसबुक एकाउन्टमा स्ट्याटस नै लेखेका छन् । यस्तो छ उनको स्ट्याट्स : “राहत शब्द नै नबुझेर लेखिएका मन्दबुद्धीहरूको स्टेट्सले मलाई सार्है हँसाएको छ । गरीब, अप्ठेरोमा परेका जस्ता लेख्नेहरूले गरिबी नै उन्मुलन गरी दिएको र लकडाउन भरीकै सबै जिम्मा लिएर अप्ठेरो बाट उकासेको जस्तो लाग्यो । त्यसतो औकात छ त! गार्हो स्थितिमा हलुङो पार्नु नै राहत हो यति मात्र बुझी राख्नु ।”

यो त भयो स्ट्याटस र आपत्तीको कुरा । यता, तस्विरका बारेमा पनि चर्चा सुरु भएको छ । सन्तोषलाई नेपाली सबै दर्शकले नचिन्लान तर मैथिली तथा भोजपुरी कलाकारितामा उनी चलेका सिनेकर्मी हुन् । उनले दशकअघि “खतरा” भन्ने नेपाली चलचित्र समेत बनाएका थिए । मैथिली म्युजिक भिडियो निर्माण र निर्देशनमा पछिल्लो समय अग्रसर सरकार ‘मैथिली चलचित्रकर्मी संघ प्रदेश १’ का अध्यक्ष समेत रहेका छन् । यस्ता ईतिहास बनाईसकेका सिनेकर्मिलाई राहतसंगै रोडमा लामबद्ध उभ्याउन लगाएर खिचिएको तस्विर सामाजिक संजालमा सार्बजनिक हुदा चलचित्रकर्मी माझ नै तस्विरको पनि विवाद सुरु भएको हो ।

तपाईको प्रतिक्रिया