ईटहरी/ गएको तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी मोडल निशा घिमिरे गम्भीर घाइते भएकी थिइन् । आर्थिक अभावका कारण शरीर अस्थिपन्जरमा परिणत हुँदै गएपछि अहिले उनको उद्धार भएको छ । मिडियामा उनको दर्दनाक फोटो र तस्विर सार्बजनिक भएपछि उनको सो अवस्थामा राहत दिन नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी हुन् ।

दुर्घटनापछि उनको भारतमै उपचार हुँदै थियो तर उपचार महङ्गो र आर्थिक अभाव झन झन बढ्दै गएपछि बुबाआमाले उनलाई नेपालमै ल्याएका थिए । घरमै अर्धचेत अवस्थामा रहेकी उनी बोल्न सक्दिनन् भने अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् तर जवाफ दिन वा अरुलाई रेसपोन्स गर्न सक्दिनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्ष भैसक्यो ।

यस्तो अवस्थाबारे थाहा पाएपछि समाजसेवी समेत रहेकी चौधरीले उनलाई निःशुल्क उपचार गर्नेगरी उद्धार गरेकी हुन् । घिमिरेको ट्रमा सेन्टर काठमाडौमा ३ महिना उपचार भयो । अवस्था जस्ताको त्यस्तै रहेपछि थेरापी सेन्टरहरुमा लगातार थेरापी गरिएको थियो । तर, नियमित थेरापी गर्नपनी आर्थिक अभाव भएपछि घरमै सिमित रहनु परेको थियो ।

दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा यतिबेला सुकेर २० केजीमा सीमित भएकी छिन् । हिजो बिहीबार बिहान उनको उद्धार गरिएको हो । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन ।

नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । पुरानै अवस्थामा फर्किन नसकेपनी आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म हुने चिकित्सकहरुले अपेक्षा गरेका छन् । चौधरीले अब आफ्नै समन्वयमा उनको संभव हुनेजति उपचार गरिने जानकारी गराएकी छन् ।

तपाईको प्रतिक्रिया