इटहरी/ विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको चलचित्र ‘उल्झन’ युट्युबमा रिलिज भएको छ । राजु अधिकारी निर्देशित यो चलचित्र थिएटरमा रिलिज नभई कोभिड महामारीका कारण युट्युबमा रिलिज गरिएको हो । आशुतोष फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथालाई प्रस्तुत गरिएको छ । तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको चलचित्रमा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, बेनी ढुङगाना, लगायतका कलाकारको अभिनय रहेको छ ।

नवीन अधिकारी र हरि कार्कीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा हिरामणि न्यौपाने र दिनेश गौतमको संगीत, कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य, लक्ष्मण घिमिरेको छायांकन र आरती अधिकारी आचार्यको लेखन छ । चलचित्र म्यूजिक नेपाल मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । युरोपका विभिन्न स्थानमा छायांकन भएको चलचित्र युरोपका विभिन्न देश र लण्डनमा रेडकार्पेट प्रिमियर गरिएको थियो । निर्देशक अधिकारीको अर्को चलचित्र ‘माया बस्छ कि के हो’ रिलिजको तयारीमा छ । हेर्नुस उल्झन

डिसहोममा नाजिरको ‘लभ सर्कल’:
लकडाउनको समयमा छायांकन गरिएको चलचित्र ‘लभ सर्कल’ शुक्रवारबाट डिजिटल प्लेटफर्म डिसहोममा रिलिज भएको छ । चलचित्र डिसहोम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आएको हो । केही दिनमा अरु पनि डिजिटल प्लेटफर्ममा चलचित्र प्रदर्शन गरिने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए । बसन्त निरौलाको निर्देशन रहेको चलचित्र कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको हो । चलचित्रमा मुकुन भुषाल, नाजिर हुसेन, पवित्रा आचार्य, रबिन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइरालाको मुख्य भूमिका रहेको रहेको छ ।

मि टिभीको प्रस्तुतिमा ओम अग्रवाल र रोशन पौडेलले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् । चलचित्रमा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र साहिल खानरमिलन श्रेष्ठको सम्पादन छ । कोरोनाका कारण सिनेमा हलहरु बन्द हुँदा डिजिटल प्लेटफर्ममा रिलिज हुने चलचित्र बढेका छन् । यसअघि ‘हिरो रिर्टन्स, कपिला’ चलचित्र पनि डिजिटल रिलिज भएको थियो ।

तपाईको प्रतिक्रिया