इटहरी/ दुई दशक अगाडि काँचको पर्दामा जमेको जोडी हो- शिव श्रेष्ठ र गौरी मल्ल । रिल (नेगेटिभ) युगको जमानामा ‘सरस्वती, स्वर्ग, धर्मसंकट, मायाघर’ लगायतका फिल्ममा उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । प्रायः फिल्ममा यो जोडीले प्रेम-प्रेमिका भएर अभिनय गरेका छन् । तर, डिजिटल प्रविधिको आगमन भएयता उनीहरुको फिल्ममा सहकार्य हुन सकेको थिएन ।

शिव र गौरीले पछिल्लो पटक एकसाथ काम गरेको फिल्म ‘धर्मसंकट’ (२०५५) रिलिज भएकै २३ वर्ष भएको छ । यो अवधिमा नेपाली फिल्मले प्रविधिमा मात्र फड्को मारेन, शिव र गौरीको भूमिकामा पनि परिवर्तन आएको छ । करिअरको उत्कर्षमा हुँदा फिल्ममा आफैं नायक-नायिका भएर अभिनय गर्ने गरेका उनीहरु पछिल्लो समय आमा-बुबाको भूमिकामा देखिन थालेका छन् ।

‘धर्मसंकट’ रिलिजको २३ वर्षपछि शिव र गौरीले शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको बर पीपल’ मा एकसाथ काम गरेका छन् । यसमा उनीहरु अभिनेता सलोन बस्नेतको माता-पिता बनेका छन् । अहिले चित्लाङ क्षेत्रमा छायांकन भइरहेको फिल्ममा भुवन केसी, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी लगायतको पनि अभिनय छ ।

आइतवार गौरी मल्लले फेसबुकमा शिव श्रेष्ठसँग फिल्मको लुक्समा खिचेको एक तस्बिर पोस्ट गर्दै ‘अन्तराल’ भनेर लेखेकी छन् । तस्बिरमा दुवैको कपाल सेताम्मे फुलेको देख्न सकिन्छ । समय र उमेरसँगै कलाकारले पर्दामा बाँच्ने जीवन पनि परिवर्तन हुँदै जान्छ भन्ने यो तस्बिरले बुझाउँछ । यो लुक्समा आफूलाई ऐना अगाडि देख्दा उनीहरुको आँखामा २३ वर्षअघिको क्षण मज्जैले नाच्दो हो ।

तपाईको प्रतिक्रिया