इटहरी/ नेपाली चलचित्र ठप्प भएको धेरै भैसक्यो । हरेक क्षेत्रले आफ्नो गति लिदै गरेको अवस्थामा यो क्षेत्रलाई भने सरकारले खासै वास्ता नदिएको देखिन्छ । पछिल्लो कुरा गर्ने हो भने सरकारले काठमाडौ, भक्तपुर र ललितपुरका सिनेमा हलहरु खोल्ने अनुमती दियो । तर, ५० प्रतिशत अकुपेन्सीमा । बल्ल बल्ल खोल्न अनुमती दिनु, त्यो पनि देशभरको ३ जिल्लामा मात्रै अनि आधा दर्शकमा चलचित्र देखाउनु पर्ने । त्यसैले पनि यो क्षेत्रका निर्माता निर्देशक र हलवालाहरुले नै पनि खासै चासो देखाएका छैनन् ।

तर, चलचित्र ‘ए मेरो हजुर ४’ ले भने आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रको यसअघि पनि प्रदर्शन मिति तय भएको थियो । तर, गएको नारी दिवसको अवसर पारेर तय भएको मिति भाद्र १८ मा रिलिज गर्न नसकेपछि निर्माण युनिटका तर्फबाट थापा परिवारले सामाजिक संजाल मार्फत नया प्रदर्शन मिति सार्बजनिक गरेको छ ।

चलचित्रकि निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापाले आ-आफ्नो फेसबुकमा आउदो चैत महिनाको २५ गते सार्बजनिक गर्ने जानकारी गराएका हुन् । तर, नेपालिहरुको महान पर्व दशै नजिकिदै गर्दा भने निर्माता, वितरकहरु मौन छन् । पुरानो दिन सम्झिने हो भने यो बेला चलचित्र क्षेत्रको बजार निकै तातिरहेको हुन्थ्यो । चलचित्र प्रदर्शनका लागि हानाथाप हुने गर्थ्यो । सहर-सहरमा नेताले भोट मागेझै निर्माण युनिट प्रचारका लागि देश दौडाहामा हुन्थे ।

तर, ‘ए मेरो हजुर -४’ ले प्रदर्शन मिति तय गर्दैगर्दा अन्य निर्माताहरु पनि तातिन्छन कि भन्ने झिनो आशा भने पलाएको छ । यो फिल्मको पुर्व निर्धारित मिति भदौ १८ मा ‘आई एम ट्वान्टी वान’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शन गर्ने तय गरिएको थियो । तर, यी दुबै फिल्मको भने नया प्रदर्शन मिति तय भएको छैन । नया मिति तय गर्दै थापा परिवारले सम्पुर्ण चलचित्रकर्मी तथा दर्शकहरूको साथ र सहयोगको आश गरेका छन् । चलचित्रमा निर्माता सुनिल र निर्देशक झरनाकी सुपुत्री नायिका सुहाना थापा र अनमोल केसि मुख्य भुमिकामा रहेका छन ।

तपाईको प्रतिक्रिया