इटहरी/ सरकारले सिनेमा हल खोल्न अनुमति दिएसंगै चलचित्र निर्माताहरु फेरि तातिन थालेका छन् । निर्माण घोषणा, कलाकार अनुबन्ध र छायांकनका कार्यहरु त भैरहे पनि चलचित्र सिनेमा हलमा भने लाग्न सकिरहेको छैन । यतिबेला एकपछि अर्को चलचित्रले आफ्नो प्रदर्शन मिति सार्बजनिक गर्न थालेका छन् । प्रदर्शनको लागि तयार रहेको चलचित्र ‘ए मेरो हजुर-४’ले आफ्नो प्रदर्शन मिति सार्बजनिक गरेपछि अर्को चलचित्र ‘लप्पन छप्पन २’ ले पनि आफ्नो नया प्रदर्शन मिति सार्बजनिक गरेको छ ।

यो चलचित्रले कोरोना महामारी सुरु भएपछि रिलिज अन्योल बनेको थियो । गत चैत २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र फेरि संक्रमण भयावह रुपमा फैलिएपछि प्रदर्शन स्थगित भएको थियो । अब चलचित्रका निर्देशक मुकुन्द भट्टका अनुसार आउँदो फागुन १३ गते महाशिवरात्रीको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ । उनले शुक्रवार साँझ आफ्नो फेसबुकमार्फत महाशिवरात्रीलाई लक्षित गर्दै नयाँ प्रदर्शन मिति सार्बजनिक गरेका हुन् ।

उनले लेखेका छन्, ‘कोरोना महामारीका कारण हामीले ‘लप्पन छप्पन २’ लाई पूर्व घोषित मितिमा रिलिज गर्न सकेनौं । तथापी, अब हामीले आउँदो फागुन १३ गते महाशिवरात्रीको अवसर पारेर रिलिज गर्ने योजना बनाएका छौं ।’ यो फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय रहेको छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल छन् । चलचित्रको सहायक निर्मातामा राजिव तामाङ र बेद बहादुर तामाङ रहेका छन् । गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना र निर्देशक मुकुद भट्ट हुन् । फिल्मको पटकथा तथा संवादमा निर्देशक भट्टलाई सुनिल नेउरेले सघाएका छन् । एक्सन जनरामा निर्मित यस फिल्मको ट्रेलरदेखि गीतसम्म सार्वजनिक भइसकेको छ ।

तपाईको प्रतिक्रिया