- सुवास संकल्प


इटहरी/ कोरोनाले गर्दा हलसम्म दर्शक अझै पनि आउनसक्ने अवस्था छैन भन्दै हात बाधेर बसेका चलचित्र निर्माता निर्देशकहरुलाई बलिउड चलचित्र ‘सूर्यवंशी’ले गलत सावित गर्दिए संगै यतिबेला भटाभट नेपाली चलचित्रहरुको प्रदर्शन मिति सार्बजनिक हुन थालेको छ । सम्पुर्ण काम सम्पन्न गरेर प्रदर्शनका लागि तयार भएर बसेका चलचित्रहरुले आफ्नो प्रदर्शन मिति सार्बजनिक गर्न थालेका हुन् ।

जसमा चलचित्र ‘ए मेरो हजुर ३’, ‘लप्पन छप्पन २’ र ‘चपली हाईट ३’ ले आफ्नो प्रदर्शन मिति तय गरिसक्यो भने अर्को चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले पनि प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले सामाजिक संजालबाट आज एक पोस्ट गर्दै ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति सार्बजनिक गरेको हो । अब यो फिल्म यहि आउदो माघ १९ गते अर्थात २ फेब्रुअरीबाट सिनेमा हलमा रिलिज हुनेछ ।

चलचित्रका निर्देशक सुदर्शन थापाले एक स्ट्याटस लेख्दै ‘कुनै एक चलचित्र मात्र नभई पुरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो’ भनेका छन् । सोही उद्देश्य अनुरुप यो चलचित्रलाई प्रदर्शन गर्ने निर्णय लिएको थापाले बताएका छन् । चलचित्रमा पुजा थापा र पल शाहको मुख्य भुमिका रहेको छ । यो चलचित्र २०७६ को फागुन ३० गते प्रदर्शनमा आउन लागेको थियो ।

तर, कोरोना महामारीको स्वरुप लिदै फैलिन थालेपछि प्रदर्शनको मुखमै पुगेर रोकिएको थियो । ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ । सुदर्शन थापाको निर्देशन रहेको फिल्म अभिनेत्री पूजा र निर्देशक सुदर्शनले नै मिलेर बनाएका हुन् । फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ ।

तपाईको प्रतिक्रिया