इटहरी/ सञ्चारकर्मीहरूलाई सम्मान र प्रोत्साहन गर्ने हेतुले नेपालमा पहिलो पटक मिडिया अवार्ड हुने भएको छ । ड्रिम हाइ नेपाल प्रा. लि. को आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्डको केहिदिन अघि राजधानीको होटल सोल्टीमा आयोजित एक कार्यक्रम मार्फत औपचारिक घोषणा गरिएको हो । ‘नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको उक्त अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ ।

टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिनेछ । पौष २३ मा आयोजना हुने उक्त अवार्डलाई ब्ल्याकहर्स सूज इन्डष्ट्रिज प्रा.लि. र जोय पपैया नेपालले स्पोन्सर गर्दैछ ।

आयोजक संस्थाका प्रवन्ध निर्देशक कमल जिसीले भने ‘उल्लेखित विधा बाहेक भुगोलतर्फको सात प्रदेशबाट दुई-दुई जनालाई सम्मान गरिनेछ भने नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्‍याउनुहुने दुई विशिष्ठ सञ्चारकर्मीलाई ‘लाइफटाइम एचिभमेन्ट’ सम्मान प्रदान गरिनेछ ।’ नेपाल पत्रकार महासंघसँगको समन्वयमा महासंघका पुर्व अध्यक्षसहित सञ्चार विज्ञसहितको पाँच सदस्यीय निर्णायक टिमले सम्मानित सञ्चारकर्मीहरूको छनोट गर्ने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया