- सुवास संकल्प


इटहरी/ भुटानी शरणार्थीहरुको अन्तर्राष्ट्रिय साझा संगठन इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले दमकमा बृहत् कार्यक्रम गर्ने भएको छ । जसको लागि फाउन्डेसनको तर्फबाट ५० जनाको टोलि केहिदिन अघि अमेरिकाबाट नेपाल आइसकेको छ । फाउन्डेसनले दमक बेलडाँगी अवस्थित क्याम्पमा यहि ११ गते सनिवार बिहान १० बजेदेखि सो कार्यक्रम गर्न लागेको हो । फाउन्डेसनको तर्फबाट बृद्धबृद्धा तथा असहायहरुको लागि भर्खरै निर्माण सम्पन्न गरिएको ‘डे केयर सेन्टर’ को विशेष उद्घाटन कार्यक्रम रहेको छ ।

यो कार्यक्रमका लागि स्थानीय सहित राष्ट्रिय चर्चित र नवोदित कलाकारहरूको जम्बो टोलि समेत दमक आउने आयोजकले जनाएको छ । कलाकारहरूमा प्रेम राजा महत, दिलिप रायमाझी, रमित ढुंगाना, प्रमोद खरेल, केकि अधिकारी, सिडि बिजय अधिकारी, सन्दीप क्षेत्री, रचना रिमाल, निशान भट्टराई, अस्मित अधिकारी, करन राज कार्की, किरण गजमेर, ऋचा थापा, गरिमा शर्मा, शंकर बिसि, दिपासा बिसि, करिष्मा ढकाल, सनिश श्रेष्ठ, रवि गहतराज, सन्जु मोक्तान, नरमान राई, प्रवीण बेडवाल, आरिफ रौफ र निक्स शर्माको आकर्षक प्रस्तुतिहरु रहने छ ।

कार्यक्रमको अतिथि कलाकारको रुपमा अभिनेत्री वर्षा राउतको उपस्थिति रहने छ भने कार्यक्रमलाई सुशील नेपालले संचालन गर्नेछन् । कार्यक्रम इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीको सभापतित्वमा हुनेछ । डे केयरको उद्घाटनसंगै सोही कार्यक्रमबाट ‘मेरो डान्स कप यु एस ए’ चौथो सिजन र ‘मेरो भ्वाइस कप यु एस ए’ दोस्रो संस्करणको पनि विशेष सुभारम्भ गरिने कार्यक्रम रहेको छ । सम्भवत प्रदेश १ मा एउटै मंचमा यतिधेरै लोकप्रिय कलाकारहरू एकसाथ देखिएको यो पहिलो कार्यक्रम हुनेछ ।

तपाईको प्रतिक्रिया