इटहरी/ सर्वाधिक रुचाइएको चलचित्र ‘कबड्डी’ को चौथो सिरिजको टिजरसँगै प्रदर्शन मितिसँगै सार्वजनिक भएको छ । चलचित्रको सोमवार टिजर सार्वजनिक गर्दै आउँदो बैशाख २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । प्रेम वियोगले विरक्तिएका दयाहाङ राई (काजी) को जीवनमा मिरुना मगर (मिस शान्ति) को आगमनपछि आउने उतार-चढावलाई टिजरमा रोचक तरिकाले देखाइएको छ । टिजरको सुरुवातमा दयाहाङले बुद्धि तामाङ र विजय बरालसँग ‘आजदेखि मेरो बिहेको कुरा सकियो केटा हो, अब म आफ्नो बाटो लाग्छु तिमरु पनि आफ्नो बाटो लाग’ भन्दै खोलामा मोबाइल फ्याकिदिन्छन् ।

उता, शहरबाट शिक्षिकाको रुपमा मिरुनाको आगमन हुन्छ भने घोडा चढेर सौगात मल्ल (बमकाजी) को पनि इन्ट्री भएको छ । टिजरमा समावेश केही संवाद रमाइला छन् । ‘कबड्डी कबड्डी’ मा रेश्मा गुरुङ (मैयाँ) का लागि लडेका दयाहाङ र सौगातबीच यसपटक मिरुनाका लागि घम्साघम्सी हुने टिजर हेर्दा अनुमान गर्न सकिन्छ । हेर्नुस टिजर

‘कबड्डी’ ब्रान्डको अन्तिम सिरिज भनिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यसैले यो सिरिजलाई ‘फाइनल म्याच’ भनिएको छ । निर्देशक गुरुङका अनुसार, यो सिरिजमा अब ‘काजी’ को प्रेम कथालाई विट मारिनेछ । बासुरी फिल्मस् र सुष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । चलचित्रमा गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको पनि अभिनय छ । शैलेन्द्र डि. कार्कीले खिचेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र एसडी योगीको संगीत छ ।

तपाईको प्रतिक्रिया