इटहरी/ केहि दिन अघि धरानमा आएका गायक एकदेव लिम्बुले आफ्नो डाईहर्ट फ्यानसंग भेट्ने मौका सामाजिक संजालबाट जुरेको छ। धरानमा कन्सर्ट गर्न आएका उनि सो फ्यानलाई भेट्न बाध्य भए। शारीरिक रुपमा अशक्त धरान १३ फुस्रेकी १६ वर्षीया फुङ्सो लिम्बू को फेसबुकमा आएको एक कमेन्टले गर्दा उनको घरमै पुगेर खुसीसाथ साउण्ड सिस्टम सहित सांगीतिक माहौल बनाए।

आइतबार धरानको कन्सर्ट सकेपछि एकदेवले आफ्नो फेसबुकमा एक भिडियो राखेका थिए सो भिडियोमा यस्तो कमेन्ट आएको थियो : “हेल्लो एकदेव नमस्ते सेवारो । म हजुरको ठूलो फ्यान हो । हिजो धरानमा आउनु भएको थियो । हजुरलाई धेरै हेर्न मन त थियो । हिड्न सक्दिन नि त आएम डिस एवल पर्सन अनि आउन सकिन । धेरै नराम्रो दुख लाग्यो । जिन्दगीमा केही मिस भएझैँ लाग्यो । तर जिन्दगी धेरै लामो छ । कुनै न कुनै दिन हजुरलाई भेट्न पाउँछु होला नी । हजुर धेरै राम्रो लाग्नु हुन्छ । हजुरको संङ धेरै राम्रो लाग्छ । अरु त खोइ के भनौँ । धेरै धेरै माया। हाँसी राख्नु् क्युट देखिनु, हुन्छ ।”

उनको फेसबुकमा आएकाे यो कमेन्टले एकदेव भावुक बने अनि उनले रिप्लाई दिए । रिप्लाईमा भने, -क्यान यू प्लीज, मलाई डिएम गर्न सक्नुहुन्छ । तपाईको लोकेशन र नम्बर ? म तपाईसम्म पुग्ने कोसिस गर्नेछु । यति भनेपछि एकदेवले आफ्ना साथीहरुलाई फुङ्सो लिम्बूको ठेगाना र उनको घर पत्ता लगाउन सहयोग मागे । त्यसको केही समयपछि उनीहरु फुङ्सोको घर पत्तो लगाउन पनि सफल भए । उनीहरू तत्कालै साउण्ड सिस्टम र माइक तयार गरेर गाडीमा हाल्छन् । फुङ्सोको घरमा पुग्छन् एकदेव र उनका साथीहरु । पुगेपछि फुङ्सोको बारेमा उनकी आमा मञ्जु लिम्बू एकदेवलाई सबै भन्छिन् । अघिल्लो दिनको कन्सर्ट हेर्न नपाएको प्रति फुङ्सोले धेरै आँसु खसालेको सुनाउँछिन् । माहोल भावुक बन्छ । यद्यपि फुङ्सो भने खुशीले गदगद हुन्छिन् । उनको खुशीको आँसु खसिरहन्छ ।

त्यतिकैमा एकदेवले आफ्ना गीतहरु ‘तिम्रो मुटुमा’, ‘शिरफूल’ र ‘सिउँदोमा सिन्दुर’ सुनाइदिन्छन् । गीत सुनेपछि फुङ्सोको खुशीको सीमा रहन्न । अनि भन्छिन्, ‘थ्याङ्क यु ।’ उनी गीतकाे ताल सँगसँगै नाच्ने काेसिस पनि गर्छिन् । एकदेवले उनलाई घडी उपहार पनि ल्याइदिएका हुन्छन् । र, उनको हातमा घडी लगाइदिन्छन् । एकदेवले घरैमा गएर गीत प्रस्तुत गर्दा आमा मञ्जुको आँखामा अविरल आँसु झरिरहन्छ । पल्लो कोठामा गएर उनी धित मरुञ्जेल रुन्छिन् । अनि भन्छिन्, ‘घरमै आएर गाइदिँदा एकदमै खुसी लाग्यो । छोरीका लागि यो सबैभन्दा खुसीको क्षण हो।’ उता एकदेवले पनि फुङ्सोको कमेन्टले आफू भावुक भएकाे बताउँदै जसरी भए पनि भेट्न चाहेको बताए । उनले घरमै पुगेर प्रत्यक्ष गीत सुनाउन पाउँदा अध्याधिक खुशी भएको प्रतिकृया दिएका छन् ।

तपाईको प्रतिक्रिया