इटहरी/ विवादको भुमरीमा परेको प्रकाश सपुतको ‘पिर’ गीतले युट्युबमा भने निकै राम्रो उपलब्धि पाईरहेको छ । सार्बजनिकको ४ दिन पूरा नहुदै यो गीतको भिडियोलाई ५५ लाख भन्दा बढी पटक हेरिएको छ । यस्तै लाईक मात्रै भिडियोले ४ लाख २२ हजार बढी पाएको छ भने ३३ हजारबढी सकारात्मक कमेन्ट देख्न सकिन्छ । यो हेराई छिन-छिनमै बढिरहेको छ । छोटो समयमा यति धेरै भ्युज पाउने सम्भावत यो पहिलो गीत हुन सक्छ । राम्रा, यथार्थपरक र ठेट नेपालीपन बोकेका गितहरु गाउने सपुतका प्रायः गीतहरू लोकप्रिय छन् । तर यसपटक भने लोकप्रियता संगै विवादमा समेत पर्यो । सार्बजनिक माफी माग्दै गीतलाई युट्युबबाट हटाउन समेत दवाब आयो ।

तर, सामाजिक संजाल तातेको यो बिषय यतिबेला भने सपुतको स्ट्याटससंगै बिस्तारै सेलाउन थालेको छ । गीतमा माओवादी द्वन्दका कथालाई सपुतले यथार्थ चित्रण गरेका छन् । जुन कुरालाई सहन नसकेर अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह लगायत माओवादी निकट केही संगठनले ‘पीर’लाई युट्युवबाट हटाउन अनुरोध गरेका थिए । सो गीतको भिडियोमा जनयुद्धको कथाको हवाला दिएर महिला लडाकुलाई देह ब्यापार गर्ने पात्रका रुपमा चित्रण गरिएको र जनयुद्धमाथि प्रहार गरिएको भन्दै यो विवाद चर्किएको थियो । हेर्नुस् भिडियो ।

१६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला यो समाचार तयार गर्दासम्म युट्युबको ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ । यो स्थान सार्बजनिकको केही समय पछि देखि नै गीतले कब्जा गरेको थियो । गीतमा प्रकाश सपुतकै स्वर, शब्द र संगीत समावेश गरिएको छ भने भिडियोको कथा तयार र निर्देशन पनि उनैले गरेका हुन् । भिडियोमा प्रकाशको अलावा सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन ‘केसरी’, पुष्पा अवस्थी र बिशाल घिमिरेको जिवन्त अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई प्रकाशकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ भने प्रबिण भट्टले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया