- सुवास संकल्प


इटहरी/ नेपाली चलचित्रका गीत तथा संगीत उधोगका म्युजिक भिडियोहरुले युट्युबमा निकै महत्त्व राख्छ । भनौ, युट्युबमा आएको भ्युजकै आधारमा फ्लप र हिटको मुल्यांकन हुन्छ । पछिल्लो समय त विवाद र आलोचनाले पनि गीतलाई युट्युबमा ठूलो भ्युजको उपलब्धि हुन्छ । सामान्य भ्युजबाट लाखौ भ्युज पुग्दा खुसी हुने कलाकार, निर्माता तथा निर्देशकहरु करोड भ्युज पुग्दा केक नै काटेर सेलिब्रेसन गर्छन् । धेरैले बुस्ट अर्थात डलर खर्च गरेर भ्युज किनेको आरोप खेप्छन् । तर, सिर्जना राम्रो र प्रस्तुतीकरण दमदार भयो भने यो उपलब्धिको लागि महिनौ कुर्नै पर्दैन भन्ने प्रमाण पछिल्लो समय प्रकाश सपुतको ‘पिर’ले पेश गरेको छ ।

विवादमा परे पनि सो गीतको समर्थनमै धेरैको आवाज सुनियो । यतिबेला यो गीतको भिडियोले १ सातामै १ करोड बढी भ्युज पाउन सफल भएको छ । जुन भ्युज अर्गानिक भ्युज हो भने १ सातामा १ करोड भ्युज पाउने पहिलो नेपाली म्युजिक भिडियोको कीर्तिमानी समेत कायम गरेको छ । हामिले यो समाचार तयार गर्दै गर्दा भिडियोले १ करोड १ लाख ९५ हजार बढी भ्युज पाएको छ । यो क्रम निरन्तर बढिरहेको छ । यता भिडियोलाई लाईक मात्रै ५ लाख ६५ हजार बढिले गरेका छन भने ३९ हजार बढिले कमेन्ट गरेका छन् । यस्तै युट्युब नेपाल ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । जसमा प्रायः सकारात्मक प्रतिक्रिया नै देखिन्छ । हेर्नुस् भिडियो ।

भिडियोमा समाबेश गरिएको एक दृष्यमा माओवादीका केही संगठन तथा कार्यकर्ताले आपत्ति मात्रै जनाएनन्, सार्बजनिक माफी मागेर भिडियो युट्युबबाट हटाउन दवाब समेत गरियो । तर, प्रकाश सपुतकै समर्थनमा सामाजिक संजालमा जनसागर ओर्लिए पछि अहिले यो बिषय केही रुपमा किनारा लागेको छ । भिडियो सार्बजनिक भएको २४ घन्टा नबित्दै विवादमा परेको गीतको भिडियोलाई माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित रहेर तयार गरिएको छ । गीतमा प्रकाश सपुतकै स्वर, शब्द र संगीत समावेश गरिएको छ भने भिडियोको कथा तयार र निर्देशन पनि उनैले गरेका हुन् । भिडियोमा प्रकाशको अलावा सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन ‘केसरी’, पुष्पा अवस्थी र बिशाल घिमिरेको जिवन्त अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई प्रकाशकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ भने प्रबिण भट्टले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया