- सुवास संकल्प

इटहरी/ पाइरेसीका कारण नेपाली चलचित्र निर्माताहरु हैरानीमा पर्छन् । अझै पछिल्लो समय पाइरेसीको ट्रेन्ड परिवर्तित हुँदै जादा त यसलाइ नियन्त्रण कसरी गर्ने भन्ने कुरा नै एउटा ठूलो प्रश्रको रुपमा खडा भएको छ । पछिल्लो उदाहरण हो, कबड्डि ४ । चलचित्रका महत्त्वपूर्ण दृश्य तथा क्लाइमेक्सका पुर्णभागलाई हलभित्रै दर्शकले लाईक भ्युज तथा फलोअर्सको लोभमा सामाजिक संजाल टिकटक तथा युट्युब लगायतका प्लेटफर्ममा अप्लोड गरे । उनिहरुलाई थाहा नहोला यो पाइरेसी हो भनेर, तर गरे । यो बिषयमा निर्माण युनिटले नेपाल चलचित्र संघलाई गुहारे पछि कानुनी कारबाहीको चेतावनी समेत दियो । तर, काग कराउदै गर्छ पिना सुक्दै गर्छ भने झै भयो । यता प्रदेश १ मा पनि सोही अवस्था आयो । प्रसङ्ग ‘कबड्डी ४’ पाइरेसी कै थियो ।

यहाँ चलचित्र र चलचित्रसंग आवद्ध हुनेहरुको हितका लागि खोलिएको ‘नेपाल चलचित्रकर्मी महासंघ’ सक्रिय छ । तर, यो चलचित्रका निम्ति भने सार्बजनिक रुपमा चुईक्क नबोलेको पाइयो । इटहरीकै फिल्म हलबाट दर्शकले कबड्डि ४ को महत्त्वपूर्ण दृश्य तथा क्लाइमेक्सका दृश्य कैद गर्दै गरेको समाचार भिडियो सहित डिथ्री अनलाइनले प्रसारण गरेको थियो । त्यसपस्चात ‘नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १’ का प्रतिनिधीहरु समक्ष पनि यो कुरा पुग्यो । समाचार पश्चात् महासंघ पदाधिकारीबाट काठमाडौको चलचित्र सम्बन्धी सम्पुर्ण संस्थालाई जानकारी तथा ध्यानाकर्षण गराएको र चलचित्र बिकास बोर्डबाट सचेत गराउछु’ भन्ने जानकारी त आयो । त्यसपछि भने कुनै कुराहरु बाहिरिएको छैन । होला यस बिषयमा हल संचालकको कमजोरी, तर ध्यानाकर्षण गराउनु महासंघको जिम्मेवारी हैन र ? हेर्नुस यस समाचारका लागि तयारि पारिएको भिडियो :

तर, पछिल्लोसमय क्यालेन्डर बाढ्न र उद्घाटनमा रिवन काट्न ब्यस्त महासंघले हल संचालकलाई ध्यानाकर्षण गराउन र दर्शकलाई ‘त्यसो गरे कानुनी कारबाहीमा परिन्छ है’ भनेर एउटा बिज्ञप्ति समेत निकाल्ने फुर्सद नमिलेको छर्लङ्ग देखियो । काठमाडौको चलचित्रसंग सम्बन्धित संस्थालाई जानकारी गराउन भन्दा महासंघले नै बिज्ञप्ति र हल-हलसम्म पुगेर ध्यानाकर्षण गर्न सकिन्न थियो र ? यो प्रसङ्ग महासंघको जिम्मेवारी भन्दा बाहिरको कुरा त पक्कै नहोला । अहिले काठमाण्डौको चलचित्रमाथि यस्तो अवस्था आइरहदा कुनैबेला प्रदेश १ कै चलचित्रमा चाहि यो क्रम नदोहोरिएला भन्न सकिन्छ ? प्रदेश १ का मात्र कलाकर्मी र यहाको मात्रै चलचित्र हक हितको लागि मात्रै हो त महासंघ ? कबड्डि ४ कै अभिनेत्रीको हितमा बोल्ने महासंघ पदाधिकारीहरु कबड्डि ४ चलचित्र पाइरेसीमा नबोल्दा र काठमाडौको चलचित्रसंग सम्बन्धीत संस्थालाई जानकारी गराएको भन्दै महासंघ पन्छिदा पक्कै राम्रो सन्देश नजाला, एक पटक सोच्ने पो हो कि !

तपाईको प्रतिक्रिया