- सुवास संकल्प


इटहरी/ यतिबेला चलचित्र क्षेत्रमा ‘चलचित्र विकास बोर्ड’ अध्यक्षको लागि नया नेतृत्वको चर्चा चलिरहेको छ । बोर्ड अध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएसंगै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले केहिदिन अघि आवेदन माग गरेको थियो । त्यसपस्चात केहि चलचित्रकर्मीहरु बोर्ड अध्यक्ष कुर्सीका लागि दौडघुप गरिरहेका छन् । मन्त्रालयले सूचना निकाले पनि राजनीतिक नियुक्ति हुने भएकाले सत्तामा रहेको कांग्रेस निकट चलचित्रकर्मीहरु बोर्ड अध्यक्षको कुर्सी हत्याउन दौडधुप गरिरहेका छन् । निर्देशक सम्झना रौनियार उप्रेती, निर्देशक तथा निर्माता नरेश पौडेल, मनिष पण्डित, निर्देशक नारायण पुरी, निर्माता चिरञ्जिबी बस्नेत, निर्देशक सुचित्रा श्रेष्ठ, निर्देशक राजेन्द्र उप्रेती, पत्रकार दिवाकर मैनाली लगायत चलचित्रकर्मीहरु बोर्ड अध्यक्ष कुर्सीका लागि ताकेता गरिरहेका छन् । यसै नामहरुमा आउने अर्को बोर्ड अध्यक्ष सम्भावित नाम हो अरुण कुमार प्रधान । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष समेत रहेका उनलाई यतिबेला बोर्डको सम्भावित अध्यक्षको रुपमा हेर्न थालिएको छ । आज हामी उनै प्रधानको बारे चर्चा परिचर्चा गर्दैछौं ।

परिचय:
सानैदेखि अभिनय तथा चलचित्र क्षेत्रमा रुचि राख्ने प्रधान अहिले प्रदेश १ का चलचित्रकर्मीहरुको अभिभावकको रुपमा उदाएका छन् । यहाँका चलचित्र कलाकर्मीहरुको सुखदुःखको सारथिको रुपमा महासंघको उदय भएसंगै प्रधानले यतिबेला महासंघको दोश्रो कार्यकालको नेतृत्व सम्हालीरहेका छन् । बुवा मदन प्रधान र आमा करुणा प्रधानको कोखबाट जेठो छोराको रुपमा जन्म लिएका प्रधानले आफ्नो जिवनको धेरै कालखण्ड चलचित्र क्षेत्रमै समर्पित गरिरहेका छन् । आफू ६ वर्षको बच्चा हुदादेखी बुढी हजुरआमा संग चलचित्र हेर्न इनरुवाको सिनेमा हलमा गएको याद उनिसंग अझै ताजै छ । प्रदेश १, सुनसरीको इनरुवा १ अवस्थित शान्तिचोकमा जन्म लिएका प्रधानले आफ्नो चलचित्र क्षेत्रको मुख्य कर्मथलो आफ्नै जन्मक्षेत्रलाई नै बनाए । यहि ठाउबाट पनि चलचित्र क्षेत्रमा योगदान दिन सकिन्छ भन्ने उद्देश्य र सपना बोकेर हिडेका प्रधानका धेरै सपनाहरुले यतिबेला साकार स्वरुप पाइरहेको देख्न सकिन्छ । चलचित्र क्षेत्रसंगै उनले आफ्नै ब्यवसाय पनि संचालन गरिरहेका छन् । विगत केहिवर्ष देखि धरानमा ‘ह्वाइट हाउस होटल म्यानेजमेन्ट’ कलेज संचालन गरिरहेका छन् । प्रधानको जन्म इनरुवामा भएपनी आफ्नो परिवार सहित धरानमै बस्दै आइरहेका छन् । उनले भवगती माबी इनरुवाबाट एसएलसी पास गरेका हुन भने नेपाल ल क्याम्पस काठमाडौबाट कानुनमा स्नातक गरेका छन् ।

कला क्षेत्रको सुरुवात:
प्रधान यतिबेला चलचित्र क्षेत्रमा अगाडि देखिए पनि उनको कला यात्रा भने नाटकबाट भएको हो । उनले बिक्रम सम्बत २०४६ सालमा रंगकर्मीहरुको समूह ‘सम्बाद’ नामको संस्था सुभारम्भ गर्दै यो क्षेत्रमा पाइला चालेका हुन् । उनले आफ्नै निर्देशनमा पहिलो पल्ट इनरुवामा नाटक प्रदर्शन गरेका थिए । इनरुवामा मात्रै हैन सो समयमा उनले सुनसरी संगै पुर्वान्चलका धेरै ठाउहरुमा पहिलो पल्ट सडक नाटक मन्चन गरेका थिए । नटक मन्चनको सफलताले हौसिएका प्रधानले थुप्रै नाटक लेखन तथा निर्देशन गरेका छन् । सडक नाटकले दिएको हौसलाले स्टेज नाटक, बृत्तचित्र, म्युजिक भिडियो, टेलिचलचित्रहुँदै ठूलोपर्दाको चलचित्रसम्मको यात्रा तय गरेका हुन् । निर्माणसंगै अभिनय, लेखन, निर्देशनमा उनको राम्रो अनुभव छ । उनले महानायक राजेश हमालको श्रीमती मधु भट्टराईलाई पहिलो पटक म्युजिक भिडियोमा मोडलको रुपमा डेब्यु गराएका थिए । प्रज्ञा प्रतिष्ठानमा समेत नाटक मन्चन गरेका उनले २०५३ सालमा नेपालमै पहिलो पल्ट ‘पुर्वान्चल क्षेत्रीय नाटक महोत्सव’ गरेका थिए । सो नाटक महोत्सव प्रधान नेतृत्वको ‘सम्बाद’ नाटक समुहबाट आयोजना गरिएको थियो । उनले राजकुमार राई निर्मित चलचित्र ‘संगम’मा सह-अभिनेता र ‘त्रीवेणी’ चलचित्रमा समेत अभिनय गरेका छन् । हिरो बन्ने सपना बुनेका प्रधान अन्ततः निर्माता, निर्देशक भए । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘क्याबिन गर्ल’ हो । लोकप्रिय हास्य गायक तथा अभिनेता श्रीकृष्ण लुइँटेल ‘बोकेदार्ही’, प्रकाश पौडेल, नायक जीवन लुइँटेलको पहिलो म्युजिक भिडियो बनाउने पनि उनै अरुण कुमार प्रधान हुन् ।

सम्मान, पुरस्कार र योगदान:
उनले विशेषत आदिवासी तथा जनजाती चलचित्रमा ठुलो योगदान गरेका छन् । थारु, राजबन्शी, राई, लिम्बू, याक्खा, मगर चलचित्र निर्देशन गरेका उनले सबैभन्दा बढि आदिवासी तथा जनजाती चलचित्र निर्देशन गरेको भन्दै नेपाल चलचित्र विकास बोर्डले राजकुमार राई नेतृत्वमा रहदा सम्मान समेत गरेको थियो । उनले सन् २००९ मा भएको फावन फिल्म फेस्टिभलमा थारु चलचित्र ‘हमर जिन्दगी’बाट बेस्ट एडिटरको अवार्ड जितेका थिए । त्यस्तै क्याबिन गर्ल चलचित्रबाट बेस्ट डाइरेक्टर र नेपाल चलचित्र विकास बोर्डले प्रदान गर्ने ‘विशेष चलचित्र पुरस्कार-२०७३’ १२ नेपाली १ चिहान चलचित्रबाट प्राप्त गर्न सफल भएका थिए । प्रधानले अन्तर्राष्ट्रिय चलचित्र अवार्डहरु समेत हात पार्न सफल भएका छन् । २०१० मा आयोजना भएको नेपाल इन्टरनेसनल इन्डिजिनियस फिल्म फेस्टिभलमा उनको ‘फुङ्वामा’ चलचित्रबाट ‘ब्रम्स ड्रम पब्लिक च्वाइस अवार्ड’ हात पारेका थिए । त्यस्तै २०११ मा आयोजना भएको सोही फिल्म फेस्टिभलमा उनको बृत्तचित्र ‘स्विट ड्रेन्ड ल्यान्ड’ ले कृटिक्स अवार्ड र सन् २०१८ मा अमेरिकाको न्युयोर्कमा आयोजना भएको ‘निफ’ फिल्म फेस्टिभलमा याक्खा भाषाको चलचित्र ‘ओम्ला’ बाट बेस्ट डाइरेक्टरको अवार्ड हात पारेका थिए ।

तितो सत्य कथा:
चलचित्र क्षेत्रमा योगदान दिने क्रममा उनले सत्य घटनामा आधारित ‘१२ नेपाली १ चिहान’ नामक चलचित्र लेखन, निर्माण तथा निर्देशन गरेका थिए । २०६१ सालमा इराकमा भएको कारुणिक घटनामा आधारित भएर निर्माण गरिएको भएपनी उनले घट्नामा मारिएका नेपालिको परिवारको अनुमती र सल्लाह बिना सो फिल्म निर्माण गरेको आरोप समेत लागेको थियो । यता चलचित्रलाई ‘चलचित्र विकास बोर्ड’ले सेन्सरको लागि सिफारिस नदिदा प्रधानको टाउको दुखाइको अर्को बिषय बन्न पुगेको थियो । सेन्सर बोर्डले विकास बोर्डलाई ठाडो पत्र लेख्दै ‘१२ नेपाली १ चिहान’ चलचित्रलाई सिफारिस नगर्न र युट्युब इन्टरनेटमा भएका सम्पुर्ण प्रचार सामग्री हटाउन भनेको थियो । राज्यको एउटा निकायले चलचित्र बनाउन अनुमति दिनु र राज्यकै अर्को निकायले चलचित्र हेर्दै नहेरी प्रदर्शन गर्न नपाउने आदेशले उनी आजित बनेका थिए । यतिसम्म भएको थियो कि उनले सेन्सरको सिफारिस लिन बोर्ड जादा जुन कुर्सीको लागि अहिले उनले ताकेता गरिरहेका छन्, त्यही कुर्सीमा बस्ने तत्कालिन विकास बोर्ड अध्यक्षको सिफारिस नदिने निर्णय उनको लागि एउटा तितो अनुभव समेत बनेको थियो । चलचित्रलाई ब्यान्ड नै गरिएको थियो । तर, निर्माता संघको पहलमा प्रतिबन्ध फुकुवा गरिएको थियो । झमेला हुदा हुँदै पनि उनले ‘१२ नेपाली १ चिहान’को च्यारिटी शोहरु भने गरेका थिए ।

तपाईको प्रतिक्रिया