इटहरी/ अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘माइकल अधिकारी’ को ट्रेलर सार्बजनिक गरिएको छ । आउदो भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारी रहेको चलचित्रको बुधवार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सार्बजनिक गरिएको हो । सार्बजनिक ट्रेलरमा सामाजिक कथासंगै कमेडी, प्रेम र इमोसनलाई प्रस्तुत गरिएको छ । रियलमा पनि श्रीमान श्रीमती बन्ने तयारीमा रहेका सौगात र सृष्टि यो चलचित्रमा पनि श्रीमान श्रीमतीको भुमिकामा छन् । यी २ को झगडाबाट सुरु भएको ट्रेलरले मर्मस्पर्शी कथा भन्दै विट मार्छ ।

बिहान बेलुकाको छाक टार्न शहरमा संघर्ष गरिरहेको एक विवाहित जोडिमा ब्युतिएको आर्थिक समस्या र सो आर्थिक समस्यालाई हल गर्न ‘भाडाको आमा’ बन्न समेत तयार रहेकी एक महिलाको मर्मस्पर्शी कथा, भाडाकै भएपनि आफ्नो कोखबाट जन्मिएको बच्चालाई सो महिलाले अरुलाई दिन नसकेपछिको उत्पन्न परिणामको कथालाई ‘माइकल अधिकारी’ले बोल्छ । चलचित्रलाई रन्जित रौनियारले निर्देशन गरेका हुन भने यसै चलचित्रबाट उनले निर्देशनमा डेब्यु गर्दैछन् । हेर्नुस् ट्रेलर यस्तो बनेको छ ।

‘कुसुमे रुमाल’ जस्ता सफल चलचित्र निर्माण गरेको गोपीकृष्ण मुभिज यसै चलचित्रबाट लामो समय पश्चात् चलचित्र निर्माणमा फर्किएको छ । निरक पौडेल निर्मातामा छन भने उद्धव पौडेलले ‘माइकल अधिकारी’ लाई प्रस्तुत गरेका छन् । यसको कथा निर्देशक रौनियारले नै तयार गरेका हुन् । चलचित्रमा सौगात र सृष्टिको अलावा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियार यिओ लगायतको अभिनय रहेको छ । ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया