इटहरी/ सफल निर्माता तथा कलाकार द्वय दिपाश्री निरौला र दिपक राज गिरी र उनको समुहले ‘श्री माग्ने राजा’ नाममा चलचित्र बनाउने चर्चा व्यापक चलेको थियो । तर, सो कुरालाई थाति राख्दै दिपक दिपाले ब्लकबस्टर फिल्म ‘छक्का पन्जा’ को चौथो सिरिज ‘छक्का पञ्जा ४’ निर्माण गर्ने भएको छ । फिल्मको सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन समेत सुरु भएको छ । तर, यसपटक भने दिपा यो फिल्ममा निर्देशकको रुपमा नदेखिने भएकी छन् । उनको ठाउमा निर्देशन गर्ने जिम्मेवारी हेमराज विसीले पाएका छन् भने दिपा कलाकारको भूमिकामा मात्रै प्रस्तुत हुनेछिन् ।

एकबेला दिपक दीपालाई अनस्क्रिन जोडीको रुपमा परिचित गराउने हास्य टेलिफिल्म ‘तितो सत्य’मा यी २ को छोरा बनेर बाल कलाकारको भूमिका निर्वाह गर्ने राज आचार्यलाई समेत ‘छक्का पन्जा’ समुहमा प्रवेश गराइएको छ । राजले फेसबुकमा ‘बाल कलाकार हुदै अब युवा कलाकारमा प्रवेश’ लेख्दै दिपक दीपाको बिचमा उभिएको तस्विर पोस्ट्याएका छन् । यस्तै फिल्म क्षेत्रबाट टाढिसकेकि पूर्व मिस नेपाल मलिना जोशी पनि यसै फिल्मबाट कमब्याक गर्दैछिन् । आफु अभिनित प्राय: फिल्म असफल भएपछी यो क्षेत्रबाट टाढिने सोच जोशीले बनाएकी थिइन् । तर, २ साता अगाडि ‘छक्का पन्जा-४’ फिल्मको अफर उनलाई आएपछि यो ब्राण्डले उनलाई लोभ्याएको बुझ्न सकिन्छ ।

यता कुनैबेला छक्का पन्जा सिरिजको प्रमुख मध्ये एक नामको रुपमा अगाडि आउने जितु नेपाल भने ‘छक्का पन्जा-४’ मा अटाउन सकेनन् । महानायक विवादमा मुछिएपछि दीपाश्री निरौलालाई ‘मुन्द्रेको कमेडी क्लब’बाट जितुले हटाएका थिए । त्यसयता दिपक-दिपासंग जितुको व्यवसायिक सम्बन्धमा चिसोपना आएको थियो। यो सोहि कुराको असर हो । छक्का पन्जा ४ को कार्यकारी निर्माताको भूमिकामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् भने आमा सरस्वती मुभिजको ब्यानरमा यो फिल्म निर्माण हुदैछ । आउदो कार्तिकमा प्रदर्शन योजना बनाएको निर्माण टिमले साउन भित्रै फिल्मको सम्पूर्ण छायांकन सक्नेछन् । फिल्ममा दिपक-दिपा संगै केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय रहनेछ ।

तपाईको प्रतिक्रिया