इटहरी/ धरानलाई लाहुरेहरुको शहर भनिएझै यो ठाउँ पछिल्लो समय पर्यटकीय हिसाबले पनि विकसित हुँदै गैरहेको छ । विभिन्न मठ मन्दिर तथा घुम्न लायक ठाउहरु प्रसस्तै छन् । बेला बखत धरानमा रहेका पार्कहरु नयाँपनको आभास दिलाउदै भाइरल समेत हुने गरेको छ । यस्तै यहाँ हाइकिङ्ग जाने प्रचलन पनि छ । सोही कुरालाई अझै प्रवर्द्धन र प्रचार गर्ने उद्देश्य सहित हालै एक गीत सार्बजनिक गरिएको छ । ‘हाइकिङ्ग’ बोल रहेको सो गीतमा धरानका लोकप्रिय मेयर हर्कराज राई ‘साम्पाङ’ले समेत स्वर दिएका छन् । सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज, उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रुपमा उक्त गीतको अडियो बिमोचन गरेका थिए ।
सोही अवसरमा प्रमुख अतिथि समेत रहेका मेयर राईले सो गीतको लिरिकल भिडियो समेत सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा मेयर राईसंगै चर्चित गायकहरु राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो, गायिकाहरु मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहारको स्वर रहेको छ । ‘धरानेहरुलाई नियमित रुपमा हाइकिङ्ग जान अभिप्रेरित गराउन मुख्य भूमिका खेल्नुहुने ‘सेवक अभियान’को अभियानले नै होला हामी धरानेहरु जाँगरिला भएर मेरो काममा सहयोग गर्न आउनुभएको’ भन्दै आफुले पनि स्वर भर्ने मौका पाएकोमा खुसि लागेको मेयर हर्क साम्पाङ्गले बताए। हेर्नुस् भिडियो ।
सार्वजनिक गीतको शब्द राजिव हलवाइले लेखेका हुन् । उनका अनुसार यो गीतको चाडैं अफिसियल भिडियो समेत सार्बजनिक गर्ने योजना रहेको छ । धरानमा अवस्थित भावना स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत मनोज मोतेले गरेका हुन् । सेवक अभियानले निर्माण गरेको उक्त गीतमा सिल्भर इन्टरटेण्टमेन्टले सहकार्य गरेको छ भने गीतको लिरिकल भिडियोलाई शिल्भरकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । गीत सार्बजनिक कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ, धरान फुटबल क्लबका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता किशोर राई, चर्चित गायक डिल्ली फोम्बो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । २०७४ भदौ ३१ गतेबाट सेवक अभियान मार्फत हरेक शनिबार हाइकिङ्ग जाने अभियान थालिएको थियो । हालसम्म २१८ सप्ताह पुरा भैसकेको सेवक अभियानले जनाएको छ ।